काठमाडौं- नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखला जितेको विषयलाई सोमबारका सबैजसो राष्ट्रिय दैनिक अखबारहरुले मुख्य समाचार बनाएका छन् ।
अघिल्लो साता पहिलोपटक एकदिवसीय शृंखला जितेर इतिहास रचेको नेपाली टोलीले आइतबार ट्वान्टी–२० क्रिकेटमा पनि पहिलो शृंखला हात हात पारेको हो । घरेलु टोली संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्धको खेल नेपालले २–१ ले आफ्नो पोल्टामा पारेको हो ।
शृंखलाको पहिलो खेलमा यूएई २१ रनले विजयी भएको थियो। दोस्रो खेलमा भने नेपाल चार विकेटले विजयी भएको थियो । यस्तै आइतबार भएको तेस्रो तथा अन्तिम खेलमा नेपाल १४ रनले विजयी भएको छ । योसँगै नेपालले ऐतिहासिक जीत आफ्नो नाममा लेखाएको छ ।
यसै विषयलाई मुख्य समाचार बनाउँदै कान्तिपुर दैनिकले ट्वान्टी–२० शृंखलामा पनि ऐतिहासिक जित शीर्षकमा खबर छापेको छ । नागरिक दैनिकले अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखलाः नपालले पहिलो पटक जित्यो शीर्षकमा खबर लेखेको छ । अन्नपूर्ण पोस्ट्ले अर्को फड्को शीर्षकमा खबर प्रकाशित गरेको छ भने नयाँ पत्रिकाले नेपाललाई पहिलो पटक टी–२० सिरिज शीर्षकमा खबर लेखेको छ ।
यो विषय बाहेक आजको नागरिक दैनिकले सरकारले विलासी बस्तुको आयातमा बन्देज लगाउने तयारी गरेको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ ।
समाचारमा जनाइए अनुसार चालु आर्थिक वर्षको मंसिरसम्म उच्च आयातका कारण वैदेशिक मुद्रामा चाप परेपछि सरकारले विलासी वस्तुको आयात रोक्ने तयारी गरेको छ। मुलुकको मौद्रिक जिम्मेवारी सम्हालेको राष्ट्र बैंकले आयात उच्च हुँदा मुलुकको शोधनान्तर बचत खुम्चिँदै गएको भन्दै विलासीसहित अन्य केही वस्तुको आयातमा परिमाणात्मक बन्देज लगाउन सरकारलाई सुझाव दिएको हो ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले आयातित वस्तुले अर्थतन्त्रमा पारेको असरबारे विश्लेषण गरेर सरकारलाई आयातमा परिमाणात्मक बन्देज लगाउन सुझाव दिएको जानकारी दिए। केही दिनअघि वाणिज्य मन्त्रालयले पनि सरकारलाई विभिन्न वस्तुको आयात रोक्न वा परिमाणात्मक बन्देज लगाउन सुझाव दिएको थियो ।
यस्तै अन्नपूर्णले राष्ट्रपति विद्यादेवी भण्डारी चीन र अमेरिका जाने तयारी भएको विषयलाई महत्वका साथ पहिलो पृष्ठमा छापेको छ ।
दुई महिनापछि हुने बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई)को दोस्रो सम्मेलनमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी चीन जान लागेकी हुन । सम्मेलन आउँदो अप्रिलमा बेइजिङमा हुनेछ। राष्ट्रपति भण्डारीले बीआरआईको दोस्रो सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम तय भएको उच्च स्रोतले बताएको छ।
राष्ट्रपति भण्डारीको भ्रमणबारे परराष्ट्रका अधिकारीहरूले अनौपचारिक पुष्टि गरेका छन्। सरकारी निकायले भने औपचारिक प्रतिक्रिया दिएको छैन। चीनले राष्ट्रपति भण्डारीको भ्रमणलाई निकै महत्व दिएको देखाए पनि भ्रमणलाई दुईपक्षीय भ्रमणको संज्ञा नदिइएको समाचारमा उल्लेख छ ।
यस्तै राष्ट्रपति विद्यादेवी भण्डारी आउँदो फागुन अन्तिम साता राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिका जाने भएकी छन्।
उक्त सत्रमा महिला नेतृत्वको तर्फबाट उनले न्युयोर्कमा सम्बोधन गर्ने छिन्। सरकारले राष्ट्रपतिको भ्रमणलाई अमेरिकासँग दुईपक्षीय भ्रमण बनाउन पहल गरिरहेको छ। उनी फागुन २६ मा पाँच दिनका लागि त्यसतर्फ जाने तयारी मन्त्रालयले गरिरहेको अन्नपूर्णले लेखेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४