जनकपुरधाम – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नगराईन नगरपालिकाको लगमामा जापान सरकारको सहयोगमा निर्माण हुन लागेको विद्यालय भवनको शिलान्यास गरेका छन्। आइतबार एक समारोहका बीच उपसभापति निधि र जापानी दूतावासका द्वितीय सचिव मासाओ कुनीदासले संयुक्त रुपमा नगराईन–६ लगमास्थित बासुदेव राष्ट्रिय प्राथमिक विद्यालय भवन विद्यालय भवनको शिलान्यस गरेका हुन्।
जापान सरकारको जनस्तरीय आयोजना तथा मानवीय सुरक्षा अनुदान सहयोग कार्यक्रमअन्तर्गत चार कोठे विद्यालय भवन निर्माणका लागि जापान सरकारले ९० लाख ५० हजार रुपैयाँ उपलब्ध गराएको छ।
विद्यालय शिलान्यस कार्यक्रममा बोल्दै उपसभापति निधिले पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस उपसभापति निधिले जापान सरकारले गरेको सहयोगबाट दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरेका छन्। जापान सरकारले नेपालको शिक्षा, सडक, स्वास्थ्य, कृषिलगायतको क्षेत्रमा गरेको सहयोगको प्रशंसा गरेका छन्।
शैक्षिक विकासका लागि भौतिक पूर्वाधार आवश्यक रहेको भन्दै शिलान्यास गरिएको भवनको निर्माण कार्य यथाशीघ्र पुरा गर्न उनले आग्रह गरेका छन्। ‘सम्झौता भएको केहि दिनभित्रै भवन शिलान्या भएको छ। यथाशीघ्र भवन निर्माण गर्ने नाममा गुणस्तरमा सम्झौता हुुनु हुँदैन,’ निधिले भने।
‘मुलुक विकासमा शिक्षा अपहिरार्य हुन्छ, शिक्षाको विकास नभएसम्म मुलुकको समृद्धि संभव छैन,’ उनले भने,‘शैक्षिक क्षेत्रमा सहयोग गर्ने हाम्रा ठुला मित्र हुन्।’
विश्वकै सबैभन्दा पहिलो मिथिला चित्रकला म्युजियम जापानमा रहेको बताउँदै निधिले महिला सशक्तिकरणका साथै आयआर्जन गर्न मिथिला चित्रकलाले ठुलो योगदान दिने भएकाले सहयोगका लागि जापान सरकारसँग आग्रह गरे।
४२५ जना विद्यार्थी अध्ययनरत उक्त विद्यालयको एउटै कक्षामा सय भन्दा बढी विद्यार्थी बसेर पढ्नुपर्ने बाध्यता छ। भवन निर्माण पश्चात विद्यार्थी तथा शिक्षहरुले भोगी रहेको समस्या अन्त्य हुने विद्यालयका प्रअ रामप्रकाश मण्डलले बताए। विद्यालय भवन निर्माणका लागि नेपालीका लागि जापानी राजदूत मासामिची साइगो र विकास फाउन्डेसनका अध्यक्ष श्यामसुन्दर चौधरीबीच १२ पुषमा सम्झौता भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४