काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नीलाम्बर आचार्यलाई गणतन्त्र भारतको राजदूतमा नियुक्त गरेकी छन्। नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आचार्यलाई राजदूतमा नियुक्त गरेकी हुन्।
नवनियुक्त राजदूत आचार्यले आजै राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहकाबीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
नेपालको इतिहासमा राष्ट्र प्रमुखबाट राजदूतलाई पहिलोपटक शपथ गराइएको हो। राष्ट्रपतिबाट शपथ लिने उनी पहिलो नेपाली राजदूत भएका छन्।
समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, राष्ट्रपति कार्यालयका सचिव विनोद केसी, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी तथा राष्ट्रपति कार्यालयका उच्च अधिकारीको उपस्थिति रहेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४