काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय सुनुवाई समितिको बैठक बहिस्कार गरेको छ। संवैधानीक आयोगमा माघ ६ गते सिफारिस प्रस्तावित अध्यक्ष विरुद्ध उजुरी आह्वान गरिएकोमा कांग्रेसका सांसदहरुले सिफारिसप्रति लिखित असहमति जनाउँदै बैठक बहिस्कार गरेका हुन्। समितिले उजुरीका लागि १० दिनको समय दिएको छ।
कांग्रेसले प्रमुख प्रतिपक्षी दलको नेता शेरबहादुर देउवाको उपस्थितिविनै बैठक बसेकाले बैठक नै गैरकानूनी भएको दावीसमेत गरेका छन्। कांग्रेसले उक्त निर्णयको कागजात मगाई सुनुवाई समितिले छानबिन गर्नुपर्ने माग गरेको छ ।
ठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा पूर्वसचिव बालानन्द पौडेल, समावेशी आयोगको अध्यक्षमा डा शान्तराज सुवेदीलाई सिफारिस गरेको थियो। साथै बैठकले मधेसी आयोगमा डा विजयकुमार दत्त, थारु आयोगमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगमा समिम अन्सारीलाई अध्यक्षमा सिफारिस गरेको थियो।
आइतबारको बैठकमा संवैधानिक आयोगमा सिफारिस भएकाहरुविरुद्ध उजुरी आह्वान गर्ने विषयमा छलफल सुरु भएपछि कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख प्रतिपक्षी दलको नेताको सहभागिताविना भएको निर्णय मान्य नभएको बताएका थिए।
त्यसपछि सुनुवाइ समितिमा रहेका कांग्रेस सांसदहरु कार्कीसहित जीतेन्द्र देव, पुष्पा भुसाल लिखित असहमति बुझाएर बैठकबाट बाहिरिएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४