काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले माघ २१ गते बस्ने संसद बैठकमा आफ्नो पार्टीले अवरोध नगर्ने स्पष्ट पारेका छन्।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले भने,‘सँधै संसद अवरोध हुँदैन्। उहाँहरुले महिनौं दिनसम्म अवरोध गर्नुभएको थियो भन्दैमा हामी पनि त्यही गर्दैनौं। किनकी हामीसँग लोकतान्त्री मूल्य मान्यता छ।’
डा महतले माघ २१ गते बस्ने संसद बैठकमा आफ्नो पार्टीले विरोध गर्ने कुनै कार्यक्रम नभएको स्पष्ट पारे। नेता महतले कांग्रेसले आफ्नो पार्टीका दुई जना नेता गिरिजा प्रसाद कोइराला र सुशिल कोइरालाको नाममा खोलिएको अस्पताललाई लिएरमात्रै कांग्रेसले विरोध नगरेको जिकिर गरे। ‘अहिले त सरकारले यी दुवै अस्पताल संघीय सरकारकै मातहातमा रहने निर्णय गरेको छ, उनले भने।’
आफूहरुले सरकारले डाक्टर गोविन्द केसीसँग गरेको सम्झौता तथा सहमति कार्यान्वयन नगरेको र जबरजस्ती संसदबाट विद्येयक पारित गरेको विरोधमा सदन र सडकमा विरोध गरेको महतले स्पष्ट पारे। ‘सभामुखले पनि विवादस्पद भूमिका खेल्नुभयो’, उनले भने, ‘कांग्रेसको विरोधका बावजुदपनि विद्येयक जबरजस्ती पारित भयो।’
उनले पछिल्लो समय महँगीले चरम सिमा नाघेको र जताततै भ्रष्टाचार बढेको पनि आरोप लगाए। ‘हजारौं विकास निर्माणका आयोजनाहरु बेवारिसे भएका छन्। बुहवर्षमा ठेक्का लागिसकेका आयोजनाहरु बेवारिसे भएका छन्। केन्द्रले सुरु गरेका योजनाहरु केन्द्रले नै सम्पन्न गर्नुपर्दथ्यो’, उनले भने, ‘होइन भने प्रदेशलाई हस्तान्तरण गर्नुपर्छ। त्यसको लागि आवश्यक बजेटको पनि व्यवस्था गरिनुपर्छ। तर, त्यो केही पनि गरिएको छैन्।’
वार्डडबडी भ्रष्टाचार काण्डबारे बोल्दै नेता महतले निश्पक्ष छानबिन हुनुपर्ने माग गरे। उनले भने,‘यसमा दोष कसको छ? के छ? भन्ने कुरा संसदीय समितिले बाहिर ल्याएको छ। यो रिपोर्टबारे निश्पक्ष तवरले छानबिन गर्नुपर्यो।’
‘देशमा सुशासन छ कि छैन? भएका नियम, कानुनहरु राम्रोसँग पालना हुन्छन् कि हुँदैनन्? भ्रष्टाचार समाप्त भएको छ कि छैन? न्यायपालिका स्वतन्त्र छ कि छैन? विधिको शासन लागु भएको छ कि छैन? देशभित्रका लगानीकर्ताहरु के खोज्दैछन्? भन्ने कुरामा सरकारले ध्यान दिनुपर्ने उनको भनाई छ।’ देशभित्रै काम गर्ने वातावरण र लगानीको वातावरण बनाउनु पर्ने उनको माग छ।
विश्व बैंकले प्रत्येक वर्ष प्रकाशित गर्ने ‘डुईङ बिजनेश रिपोर्ट’ मा नेपालको लगानीको वातावरणको अवस्था घटेको पनि उनले सुनाए। महतले भने,‘नेपालको स्टाटस घटेको छ। उता टा«न्सपरेन्सी ईन्टरनेश्नलको रिपोर्टअनुसार नेपालमा भ्रष्टाचार बढेको छ।’
महतले मुलुकमा वैदेशि लगानी भित्र्याउनको लागि आकर्षणको वातावरण बनाउनुपर्नेमा जोड दिए। उनले भने, ‘लगानी ल्याउनको लागि देशको स्थिति सुधार्नुपर्छ।
फरक प्रसँगमा डा. महतले भेनेजुएला प्रकरणबारे नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मोदुरो सरकारलाई पूरा समर्थन गरेर वक्तव्य निकालेको बताउँदै भने,‘अब तुरुन्तै परराष्ट्र मन्त्रालयले अर्को निकाल्यो। इसेन्स भन्ने हो भने, कोर कुरो भन्ने हो भने करिब करिब प्रचण्डजीलाई नै समर्थन गर्या जस्तो छ । बाहिर देखाउँदा त्यसलाई रिफाईन गरेर, ईडिटिङ गरेको जस्तो पनि देखिन्छ। मुल कुरो यहाँहरुलाई जानकारी भएकै कुरो हो कि–भेनेजुएला तेलको अत्यन्तै धनी मुलुक हो। संसारका जुन जनु मुलुक तेलका धनी छन्, अत्यन्तै सम्पन्न भएका छन् । तर, भेनेजुएला भन्ने त्यस्तो मुलुक हो, जहाँ चाही जनताले खान नपाएर, औषधोपचार नपाएर र मुल्य वृद्धि अकाशिएर ८० हजार प्रतिशत मुल्यवृद्धि, त्यस्तो दुरदशा छ।’
सरकार अहिले राजनीतिक स्वार्थलाई सर्वोपरि अघि बढेको आरोप लगाउँदै उनले यो स्थितिबाट सरकार मुक्त हुनुपर्ने सुझाव दिए। विदेश नीतिबारे पनि नेपालले गलत कुरालाई गलत र सही कुरालाई सही भनेर आत्मविश्वासका साथ भन्न सक्नुपर्ने धारणा राखे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४