काठमाडौं – नेपाल विद्यार्थी संघले सरकार सामु निर्माला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै पद्यकन्या क्याम्पसको प्राङगणमा दीप प्रज्ज्वलन गरेको छ। ‘न्याय मरेको मेरो देश’, ‘सानालाई ऐन ठुलालाई चैन’, ‘निर्मताका हत्यारालाई कारवाही गर’ लगायतका नारा लेखेर नेविसंघले विरोध जनाएको हो।
निर्मलाको बलात्कार पछि हत्या भएको लामो समय बितिसक्दा समेत सरकार हत्यारा पत्ता नलगाई मुक दर्शक बनेर बस्नुले देशमा न्याय हराए अनुभूति भएको नेविसंघका अध्यक्ष नैनसिंह महरले बताए। ‘२०४३ सालमा नमिता र समिता दिदीबैनीलाई बलात्कार पछि हत्या गरेर सेती नदिमा फालिएको थियो’, उनले भने, ‘उनीहरुको लास सेती नदिमा प्राप्त भएपनि प्रहरीले हत्यारा पत्ता लगाउँदै जाँदा तत्कालीन पञ्चायती शासन सत्ता र दरबारका नजिकका मान्छेहरु भएको खुल्नुे संकेत पाएपछि अनुसन्धान रोकिएको थियो। निर्मला घटनामा पनि त्यस्तै संकेत देखिने सम्भावना छ।’
विरोध सभालाई नेविसंघका महामन्त्री आनन्द त्रिपाठी, उपाध्यक्ष कृष्णा बस्नेत, सहमहामन्त्री महेश्वरी कुवरलगायतले सम्बोधन गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४