काठमाडौं – अक्सिडेन्टल पब्लिक स्कुलले आफ्नो २५ औं वर्ष प्रवेशको अवसर पारी खेलकुद महोत्सव सम्पन्न गरेको छ। काठमाडौंको सानो गौचरणमा सम्पन्न कार्यक्रमको युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले उद्घाटन गरेका थिए।
उनले उद्घाटनका क्रममा खेलकुदका माध्यमबाट उत्पादित विद्यार्थी राष्ट्रका गहना हुने बताए। राष्ट्रका लागि पदक जित्ने खेलाडीलाई आजीवन भत्ता दिनुपर्ने बताउँदै राज्यले खेलकुदमा बढी लगानी गर्नुपर्ने उनले बताएका थिए। विद्यालयका प्रधानाध्यापक टेकवहादुर पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन विभागका डिन प्रा.डा डिल्लीराज शर्मा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा सिद्धिप्र्रसाद कोइराला तथा विद्यालय स्पोर्ट काउन्सिलका अध्यक्ष गोपाल पौडेल लगायतले शुभकामना व्यक्त गरेका थिए।
२५ वर्षको यात्रामा विद्यालयले खेलकुदका क्षेत्रमा ठूलो फड्को मारेर राष्ट्रिय स्तरका खेलाडी समेत उत्पादन गरेको स्मरण गराउँदै आउँदा दिनमा पनि खेल क्षेत्रमा लागि रहने विद्यालयका निर्देशक डी.बी. निरौलाले बताए। कक्षाकोठामा सिमित ज्ञानले मात्र विद्यार्थीहरुको चौतर्फी विकास हुन नसक्ने भन्दै प्रत्येक वर्ष विद्यालयले यस्ता कार्यक्रम सञ्चालन गर्ने गरेको विद्यालयका शिक्षक तुलसी घिमिरेले बताए।
तीन दिनसम्म चलेको कार्यक्रममा फुटबल, क्रिकेट, खोखो, दौड, कपर्दी, वास्केटवल तथा अन्य एथलेटिक्स लगायतका खेल प्रतिस्पर्धा भएको थियो। विजेता विद्यार्थीहरुलाई ट्रफी, मेडल तथा प्रमाणपत्र हस्तान्तरण गरी पुरस्कृत गरिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४