फाइल तस्बिर
इटहरी- विभनगिय टोली त्रिभुवन आर्मी क्लबले दोस्रो संस्करणको मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधि जितेको छ । इटहरी क्षेत्रिय रंगशालामा शनिबार भएको फाइनल खेलमा लिग विजेता मनाङ मस्र्याङ्दी क्लबलाई २-० ले पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।
आर्मीको जितका लागि टंक बस्नेत र कप्तान भरत खवासले एक एक गोल गरे । खेलको चौथो मिनेटमा टंकले गोल गर्दै सुरुवाती अग्रता दिलाए । पहिलो हाफमा १-० को अग्रता बनाएको आर्मीले दोस्रो हाफमा थप एक गोल गर्यो ।
खेलको ८१ औं मिनेटमा कप्तान भरतले गोल गर्दै आर्मीलाई २-० ले जित दिलाए । दोस्रो हाफमा मनाङ १० खेलाडीमा सिमित हुन पुगेको थियो । विदेशी खेलाडी आफिज ओलावाले दोहोरो पहेलो कार्ड खादै ७३ औं मिनेटमा मैदान बाहिरिएका थिए ।
खेलेको १० मिनेटमा मनाङका सुजल श्रेष्ठले गोल गर्ने सुनौलो अवसर खेर फाले । उपाधिसँगै आर्मीले १६ लाख प्राप्त गर्दा उपविजेता मनाङले ८ लाखमा चित्त बुझायो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४