काठमाडौं- पाकिस्तानमा ५ खेलको अन्तर्राष्ट्रिय नेत्रहिन क्रिकेट सिरिज खेली रहेको नेपाल तेस्रो खेलमा पनि विजयी भएको छ । तेस्रो खेलमा पाकिस्तानलाई १० विकेटले पराजित गर्दै नेपालले सिरिजमा २-० ले अग्रता बनाएको छ ।
१ सय ३ रनको लक्ष्य पाएको नेपालले ७.३ ओभरमा विना विकेट गुमाएर उक्त लक्ष्य भेट्टाएको हो । नेपालका लागि मनकेसरी चौधरीले अर्धशतकीय पारी खेलिन् । यससँगै उनी जारी प्रतियोगितामा अर्धसतक बनाउने पहिलो खेलाडी समेत बनेकी छिन् ।
उनले २५ बल खेल्दै १० चौकाको मद्दतमा ५८ रन बनाएकी हुन् । त्यस्तै विनिता पुनले ३४ रन जोडिन् । उनले २४ बल खेल्दै ५ चौकाको मद्दतमा ३४ रन जोडीन् ।
टस जितेर ब्याटिङ गरेको पाकिस्तान नेत्रहिन महिला क्रिकेट टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०२ रन बनाएको थियो । पाकिस्तानका लागि तायबा फतिमाले २७ रन जोडीन् ।
नेपालका लागि कप्तान भगवती भट्टराई र मुना अर्यालले समान एक् एक् विकेट लिए । नेपाल पहिलो खेलमा पनि १० विकेटले विजयी भएको थियो भने दोस्रो खेल बर्षका कारण रद्द गरिएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४