झापा- पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन्।
अध्यागमन कार्यालय काँकडभिट्टाका कार्यालय प्रमुख तुलसी भट्टराईका अनुसार चालू आर्थिक वर्ष २०८२/८३ को साउनदेखि फागुनसम्ममा पूर्वी नाकाबाट अमेरिका, बेलायत, भूटानलगायतका मुलुकबाट पर्यटकहरु नेपाल भित्रिएका हुन्।
उहाँले साउनमा २८४, भदौमा २१९, असोजमा ५४१, कात्तिकमा ६२४, मङ्सिरमा ८७३, पुसमा एक हजार ८५०, माघमा एक हजार ३९५ र फागुनमा एक हजार पाँच जना पर्यटक भित्रिएको जानकारी दिए।
सोही अवधिमा अध्ययनलगायतका कामले विदेशमा रहेका तीन हजार १३३ नेपालीहरु सोही नाका भएर नेपाल फर्किएको समेत उहाँले बताउनुभयो। उक्त नाकाबाट अध्यागमन प्रक्रिया पूरा गरी नेपालबाट विदेश फर्किएका पर्यटकको संख्या छ हजार ५५२ रहेको छभने एक हजार ८४७ जना नेपाली समेत विदेश गएका छन्।
गत आर्थिक वर्ष २०८१/८२ मा सोही नाकाबाट आठ हजार ७२३ जना तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका थिए।