शुक्रबार, साउन १५, २०८३

नेपाली फिल्म : नायिकालाई कमजोर भूमिका किन?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाली फिल्ममा नायकको भूमिकालाई प्राथमिकता दिइएको पाइन्छ। हुन त नेपाली फिल्ममा मात्र होइन, बलिउडको अवस्था पनि त्यस्तै हो। कुनै बेला त नायकको पोस्टरले मात्रै फिल्म चल्छ भन्ने मनोविज्ञान थियो। चर्चा पनि नायिका भन्दा नायककै हुन्थ्यो।

अहिले पनि अवस्थामा धेरै परिवर्तन आएको छैन। नायिका अप्ठ्यारोमा पर्दा सधैं नायक बचाउन जाने। समाज परिवर्तनमा पुरुष अग्रभूमिकामा हुने। घरबाहिर पुरुष हुने। राजनीतिमा पुरुषले मोर्चा सम्हाल्नेलगायका भूमिका धेरै देख्न पाइन्छ, फिल्ममा। यी सबै पुरुषप्रधान भूमिका हुन्। प्रायः महिलालाई प्रेमको भूमिका, घर झगडाको भूमिका, चुलोचौकोको भूमिकामा धेरै देख्न सकिन्छ। 

फिल्म भनेको मनोरञ्जन प्रदान गर्ने मात्र नभई समाजमा सचेतना जगाउने माध्यम पनि हो। समाजमा जनचेतना जगाउनु र समाजका विकृतिहरुलाई दृश्यसहित बाहिर ल्याउनु पनि फिल्म दायित्व हो। रियल जीवनमा समाजले महिलालाई कमजोर भूमिका दिएको हुन्छ नै। तर, रिल जीवनमा पनि महिलालाई कमजोर भूमिकामा प्रस्तुत गरिनु कत्तिको उपयुक्त होला। यो एउटा बहसको विषय  बन्न सक्छ।

अवसर पाए महिलाले पनि पुरुषसरह सक्षमताका साथ काम गर्न सक्छन्। महिलाले पनि देश हाँक्न सक्छन्। नेपालमा अहिले राष्ट्र प्रमुख विद्यादेवी भण्डारी छन्। न्युजिल्यान्डमा महिला प्रधानमन्त्री जसिन्दा अर्डेरन छन्। केही समय पहिले नेपालको सभामुख र प्रधानन्यायाधीश पनि महिला थिए। अवसर पाए भने महिलाले पनि कुशलताका साथ भूमिका निर्वाह गर्न सक्छन् भन्ने यी त केही उदाहरण मात्र हुन्।

‘नायकनायिकालाई बराबर भूमिका हुनुपर्छ’

चर्चित नायिका एवम् चलचित्र निर्देशक दीपाश्री निरौला नेपाली फिल्ममा महिलाको भूमिका कमजोर हुनुमा समाजको रूढिवादी सोच प्रमुख कारक रहेको बताउँछिन्। ‘पहिले त पुरुष नै महिला बनेर अभिनय गर्थे। अहिले केही परिवर्तन भइरहेको छ’, उनले भनिन्, ‘मेरो मिल्ममा पनि मैले महिलाको भूमिकालाई प्राथमिकता दिएकी हुन्छु।’ निरौला पुरुष महिला भनेर विभेद गर्नु भन्दा पनि दुवैलाई बरावर भूमिका दिनुपर्ने मान्यता राख्छिन्। उनले पहिले भन्दा महिलाको भूमिका फराकिलो बन्दै गएको र सन्तोषजनक रहेको बताइन्।
 

‘भगवानकै पालादेखि महिलालाई सामाजिक रुपमा कमजोर तुल्याएकोमा उक्त सोच अहिलेसम्म कायमै छ’,- नायिका भुवन चन्द


‘महिलालाई सौन्दर्यका रुपमा मात्र हेरिनु हुँदैन’

पछिल्लो समय नायिका रेखा थापा प्रधान भूमिकामा देखिने गरेकी छन्। उनले निर्माण गरेका ‘मालिका’, ‘हिम्मतवाली’, ‘काली’ लगायतका थुप्रै फिल्ममा प्रमुख भूमिका निर्वाह गरेकी छन्। उनले बलियो भूमिका मात्र निर्वाह गरेकी छैनन्, महिला अधिकारका क्षेत्रमा चेतनासमेत जागृत गर्ने गरेकी छन्।

‘महिलालाई शृङ्गारिक पक्षको रुपमा हेरिन्छ। त्यो एकदमै गलत छ’, उनले भनिन्, ‘हाम्रो समाजको सोचाइ पनि साँघुरो छ। समाजमा केही परिवर्तन गर्नु छ भने पहिले पति, घरपरिवार हुँदै समाजसँग लड्न सक्नुपर्छ।’ छोरी बन्नु भन्दा पहिले मान्छे बन्नुपर्ने उनको धारणा छ। म मान्छे हँु, जन्मिसकेपछि मान्छेले केही गर्नुपर्छ र बन्नुपर्छ भन्ने धारणा राखेपछि छोरीहरुले पनि केही गर्न सक्ने उनकोे तर्क छ। समाजको साँघुरो सोचाइका कारण पनि महिला पछारी परेको उनले बताइन्। नेपाली चलचित्र पनि सोही सोचबाट ग्रसित बनेको थापाले बुझाइ छ। पछिल्लो समय महिलाको भूमिकालाई पनि शसक्त रुपमा उठाइन थालिएको उनले बताइन्। उनले आफ्ना आगामी फिल्महरुमा पनि महिलाको भूमिकालाई सशक्त रुपमा उठाउने जानकारी दिइन्।

‘महिलाकै कमजोर सोचाइ’

नेपालकी पहिलो नायिका भुवन चन्दले पहिले पारिवारिक फिल्म बन्ने गरेको र कथावस्तु पनि राम्रो हुने गरेकोमा अहिले पहिलेभन्दा धेरै फरकपन आएको बताइन्। ‘पहिले नायिका पाउनै गाह्रो हुन्थ्यो। तर, फिल्म भने उत्कृष्ट हुन्थें। पारिवारिक हुन्थें। कथावस्तु मिठो हुन्थ्यो’, उनले भनिन्, ‘बीचमा पुरुषप्रधान फिल्म बन्न थाले। जुन निरन्तरता अहिलेसम्म कायम छ।’
‘भगवान्कै पालादेखि महिलालाई सामाजिक रुपमा कम्जोर तुल्याएएकोमा उक्त सोच अहिलेसम्म कायमै छ’, चन्दले भनिन्। उनले बिस्तारै यसमा सुधार हुँदै गएको बताइन्। ‘रेखा थापाले आफैं फिल्म बनाएर हिरोको भूमिका निर्वाह गरेकी छन्’, उनले भनिन्, ‘हैन भने नायिकालाई कमजोर भूमिकामा नै प्रस्तुत गरिएको हुन्छ।’ 

‘महिलामा पनि महिलाले खाना पकाउनुपर्छ, श्रीमान्लाई खुसी राख्नुपर्छ, केटाकेटीको स्याहार गर्नुपर्छ भन्ने हेयको भावना छ’, चन्दले भनिन्, ‘हामी त्यसबाट मुक्त भएर फराकिलो बन्ने हो भने धेरै काम गर्न सक्छौं। समाजले पनि महिलालाई कमजोर रुपमा सोच्नु हुँदैन।’ उनले महिला नै जागरुक बने यो समस्याबाट मुक्ति मिल्ने बताइन्। नायिकाले पनि आफूलाई दबाइएको भूमिकाभन्दा बहादुरी प्रस्तुत गरेको भूमिका रोज्नुपर्ने उनको भनाइ छ।

नायिकाहरुले जस्तोसुकै भूमिका पनि कुशलताका साथ निर्वाह गर्न सक्ने उनीहरुको तर्क छ। पछिल्लो समय केही फिल्महरुमा नायिकाहरुले गरेको सशक्त अभिनयले पनि त्यो पुष्टि भएको छ। नायकका पोस्टरले मात्रै हलसम्म पुग्ने नेपाली दर्शक पछिल्लो समय नायिकाको सशक्त अभिनयको तारिफ गर्दै हलसम्म पुग्ने गरेका छन्। आफूहरुको अभिनयले दर्शकहरुलाई राम्रैसँग हलसम्म तान्ने गरेको नायिकाहरुको तर्क छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।