रामेछाप- प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई नालायक र अधिनायकवादी भन्दै केही दिनदेखि निरन्तर सडक आन्दोलनमा रहेको नेविसंघ रामेछापले शनिबार सडकका कुकुरहरुमा ओलीको तस्बिर अंकित पोस्टर झुण्ड्याएर सरकारको विरोध गरेको छ।
'म नालायक ओली सरकार हुँ', 'म कर प्रसाद ओली हुँ', 'हत्या हिंसा बलात्कार, मेरो सरकारको चमत्कार', 'उखान टुक्काले देश चलाउछु', 'सबै माफीयाको संरक्षण गर्छु' आदि जस्ता नारा अंकित ओलीको तस्बिर अंकित पोस्टर झुन्ड्याएर नेविसंघले कुकुरलाई सदरमुकाम मन्थलीको सडकमा छाडेको हो।
ओली सरकार सडकको कुकुर जस्तै अनावश्यक भुक्ने तर केहि नगर्ने निकम्मा साबित भएको भन्दै यसरी बिरोध प्रदर्शन गर्नु परेको नेविसंघ रामेछापका नेता विमल पौडेलले बताए।

नेविसंघ रामेछापले केही दिन अगाडि प्रधानमन्त्रीको पुत्ला दहन, सिठ्ठी जुलुस, राके जुलुस जस्ता कार्यक्रम गरिसकेको छ। देशमा चरम कालोबजारी, महंगी नियन्त्रण गर्नुपर्ने, अर्बौं घोटाला भएको वाइडबडी लगायत सरकारको संस्थागत भ्रष्टाचार छानबिन गरि दोषीलाई तत्काल कारबाही गर्नुपर्ने, निर्मला पन्तको हत्यारा सार्वजनिक गर्नुपर्ने, डाक्टर गोविन्द केसीसंगको पुर्व सम्झौता अक्षरंश पालना गर्नुपर्ने, बुढिगण्डकी लगायत सरकारले बिनाप्रतिस्पर्धा विदेशीलाई ठेक्का दिएका योजनाहरु फिर्ता गर्नु पर्ने, संसदीय मर्यादा पालना गर्नुपर्ने, आफ्ना नेता कार्यकर्ता माथिको धरपकड र ज्यादती बन्द गर्नुपर्ने लगायतका माग राखी नेविसंघले आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ। सरकारी रबैया कायम रहेसम्म आन्दोलन जारी राख्ने र भावी दिनहरूमा थप कडा एवं आक्रमक ढंगले प्रस्तुत हुने नेविसंघ रामेछापले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४