इटहरी- प्रदेश १ को व्यस्त पर्यटकीय हिल स्टेसन भेडेटारबाट ३ किलोमिटर टाढाको नाम्जे घुमफिरका लागि भने धेरै टाढाजस्तो थियो। तर, सन् २०११ को डिसेम्बर ७ (२०६८ मंसिर २१) बाट भने नाम्जे एकाएक विश्वभर चिनियो। विश्वप्रसिद्ध अमेरिकी च्यानल सिएनएनले नाम्जेलाई विश्वका नसुनिएका १२ उत्कृष्ट गन्तव्यमा राखेपछि नाम्जेले वर्षौंदेखि चिनिएको भेडेटारभन्दा धेरै चर्चा पायो।
प्रसिद्ध अमेरिकी कार्पेट व्यापारी स्टेफेन ओडिगार्डको सिफारिसका आधारमा नाम्जेलाई विश्वका चिनाउन सिएनएनकी पत्रकार मेलिन्डा पेजको समाचारले योगदान गर्यो। सिएनएनले विश्वमा कम घुमिएका उत्कृष्ट गन्तव्यमा राख्दा नाम्जेलाई मकालुको पृष्ठभूमि बोकेको, मगर संस्कृति र प्रकृतिसँग जोडिएको मगर जातिको जीवनशैलीको व्याख्या गरिएको छ। सिएनएनलाई उत्कृष्ट गन्तव्यमा सिफारिस गर्ने स्टेफेन ओडिगार्डले भनेकी थिइन्, ‘नाम्जेमा म आएपछि मलाई यस्तो लाग्यो कि म घरभन्दा पर पुगेकी छैन।’
कंक्रिट घर बढेपछि स्वरूप बिग्रँदै
सिएनएनले विश्वका कम घुमिएको राम्रो १२ गन्तव्यमा सूचीकृत गर्दा नाम्जेसम्म पुग्ने राम्रो बाटो थिएन। तर, नाम्जेमा मौलिक मगर घर, संस्कार, संस्कृति र रहनसहन भने थिए। सिएनएनको सूचीकरणसँगै विश्वभर चर्चामा आएको नाम्जेमा क्रमशः सडक पुग्यो। सडकसँगै तराई र अन्य क्षेत्रबाट घरजग्गा किन्ने पुगे। पर्यटक पुगे। यो सबै भएसँगै नाम्जेले आफ्नो मौलिकता भने गुमाउँदै गयो।
नाम्जेले पछिल्लो समयमा मौलिकता गुमाएको स्वीकार्छन्, नाम्जेको होम स्टे व्यवस्थापन समितिका अध्यक्ष अनिलकुमार रानामगर। मगरका अनुसार नाम्जेमा कंक्रिटका घर थपिँदैछन्। होमस्टे सञ्चालन गर्ने केही घरमा समेत कंक्रिटका संरचना बन्न थालेका छन्।
१९ वटा आधिकारिक होम स्टे भएको नाम्जेमा केही होमस्टे भएकै घरले पनि कंक्रिटको घर बनाएर असहयोग गरेको मगर बताउँछन्। उनी भन्छन्, ‘हामीले कत्ति सम्झाउँदा पनि केही घर पक्की बने। त्यहाँका होमस्टेलाई पर्यटन कार्यालयले अब मान्यता नदिने भनेको छ।’
प्रदेश सरकारले पर्यटकीय गाउँपालिका घोषणा गरेकै क्षेत्रमा मौलिकता गुम्दै
मगरको लोकप्रिय मौलिक नाच हुर्रा, स्थानीय खेतबारीमा उत्पादिन अर्गानिक सामग्रीबाट कोदोको ढिँडो, मकैको च्याँख्ला, फापरको रोटी, गुन्द्रुक आदि यहाँका मौलिक पहिचान हुन्। पुराना घरको मौलिकता जोगाउन सबै घरमा एकैखाले रङ लाउन आफूरुले पहल गरिरहेको मगर बताउँछन्।
प्रदेश १ सरकारले धनकुटाको नाम्जे भएको स्थानीय तह साँगुरिगढी गाउँपालिकालाई पर्यटकीय गाउँपालिका घोषणा गरेको छ। गाउँपालिकाको वडा नम्बर ६ मा अवस्थित नाम्जेले भने आफ्नो पर्यटकीय मौलिकता गुमाउँदैछ। नाम्जेकी प्रथम होटल सञ्चालक सरिता रानामगर नाम्जेको मौलिकता गुमाउन नदिन सरकारले कार्यक्रम ल्याउनुपर्ने बताउँछिन्।
नाम्जेको होटल दीप एन्ड लज अनि एक होमस्टेसमेत सञ्चालन गर्ने क्रममा रहेकी मगर यो कुरामा स्थानीय पनि सचेत हुनुपर्ने बताउँछिन्। उनी भन्छिन्, ‘आधुनिकता अँगाल्दै मौलिकता जोगाउँदै यहाँको होमस्टे, संस्कार र संस्कृति जोगाउन सरकार र सर्वसाधारण दुवैले लगानी गर्नुपर्छ।’
१९ सूचीकृत होमस्टेमा १२० जना र १३ होटलमा १०० हाराहारी अटाउने नाम्जेमा मौलिकता नरहँदा अहिलेका आगन्तुक पनि घट्ने होम स्टे व्यवस्थापन समितिका अध्यक्ष अनिलकुमार रानामगरको दुःखेसो छ। ‘नाम्जेमा प्राकृतिक वातावरण, मगरका मौलिक घर र संस्कृति, रहनसहन हेर्न आउने हुन् पर्यटकहरु’, मगर प्रश्न गर्छन्, ‘यही कुरा यहाँ हराउँदै गएपछि मान्छेहरु किन आउँछन् ?’
नाम्जेलाई विश्वमा चिनाउने कार्पेट व्यवसायी महिला
गुमनाम गाउँ नाम्जेलाई विश्वको र नेपालकै पर्यटकको ध्यान तान्ने काम गर्यो सिएनएनले। सिएनएनको पनि ध्यान तान्ने काम भने कार्पेट व्यापारी महिला स्टेफेन ओडिगार्डले गरिन्। ओडिगार्ड स्थानीय महिलाले मौलिक तरिकाले हातले बुनेर उत्पादन गरेका मौलिक कार्पेट बनाउने ओडिगार्ड कार्पेट नामक अमेरिकी कम्पनी चालउँछिन्।

आफ्नो कम्पनीका लागि आवश्यक कच्चा पदार्थ उत्पादन गर्न नाम्जेमा कत्तिको सहज होला भन्ने बुझ्न ओडिगार्ड नाम्जे पुगेकी थिइन्। न्युयोर्क डिजाइन सेन्टरसँग आबद्ध ओडिगार्डलाई नाम्जेले प्रभावित पा¥यो। त्यहाँको प्राकृतिक वातावरण, मकालु हिमालको पृष्ठभूमि र मौलिक मगर संस्कृति तथा घरहरुले उनलाई तान्यो।
आफूलाई मन परेको नाम्जे कम घुमिएका तर घुम्नुपर्ने विश्वका गन्तव्य भन्दै ओडिगार्डले सिएनएन र बजेट ट्राभल डटकमकी पत्रकार मेलिन्डा पेजलाई सिफारिस गरिन्। सोही सोफारिसमा नाम्जेले पर्यटन बोर्ड, पर्यटनकर्मी र पर्यटकहरुको ध्यान खिचेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४