सोमबार, फागुन १८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नबिल बैंकद्वारा धनगढीमा निःशुल्क जलन उपचार शिविर सम्पन्न

नबिल बैंकद्वारा धनगढीमा निःशुल्क जलन उपचार शिविर सम्पन्न

 |  आइतबार, फागुन १७, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १७, २०८२

धनगढी- नबिल बैंक, सुष्मा कोइराला मेमोरियल अस्पताल र सेती प्रादेशिक अस्पतालको संयुक्त आयोजनामा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा तीनदिने ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सम्पन्न भएको छ।

यही फागुन १२ देखि १४ गतेसम्म सञ्चालन भएको उक्त शिविरमा सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानबाट आएका ६५ जना जलनका बिरामीहरूले निःशुल्क उपचार सेवा प्राप्त गरेका छन्। शिविरमा सहभागीमध्ये ३५ पुरुष र ३० महिला रहेका थिए।

शिविरमा आएका बिरामीमध्ये २० जनाको सेती प्रादेशिक अस्पतालमै वरिष्ठ चिकित्सकहरूद्वारा शल्यक्रिया गरिएको थियो भने जटिल अवस्थाका १८ जना बिरामीलाई थप उपचारका लागि काठमाडौँको साङ्खुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा रिफर गरिएको छ।

सुष्मा कोइराला मेमोरियल अस्पतालका प्रा. डा. ईश्वर लोहनीको नेतृत्वमा रहेको विशेषज्ञ चिकित्सकको टोलीले शिविरमा सेवा प्रदान गरेको थियो।

डा. लोहनीका अनुसार नेपालमा जलनको समस्या ठुलो रहेको र समयमा उपचार नपाउँदा वा अन्धविश्वासका कारण धामीझाँक्रीकहाँ जाँदा घाउ झनै बिग्रने समस्या देखिएको छ।

kumari

शिविरबाट लाभान्वित भएकी दुर्गा पाण्डेले आफ्नी पाँच वर्षीया छोरीको घाँटीको सफल शल्यक्रिया भएकोमा खुसी व्यक्त गर्दै आयोजकलाई धन्यवाद दिइन्।

त्यस्तै, आगो ताप्ने क्रममा हात जलेका ४२ वर्षीय भरत लुहारले पनि विशेषज्ञबाट उपचार पाएको र थप उपचारका लागि काठमाडौँ जान लागेको बताए।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिमका दुर्गम क्षेत्रका जलन पीडितलाई लक्षित गरी यो शिविर आयोजना गरेको र आगामी दिनमा अन्य प्रदेशमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए।

उपचार शिविरका साथै सेती प्रादेशिक अस्पतालमा कार्यरत करिब ५० जना डाक्टर, नर्स तथा प्रशासनिक कर्मचारीहरूलाई आधारभूत जलन उपचार तालिम’ समेत प्रदान गरिएको छ।

सुष्मा कोइराला मेमोरियल अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा. राजु भण्डारीले प्रदान गरेको उक्त तालिमले अस्पतालमा आउने जलनका बिरामीको प्राथमिक उपचार र शल्यक्रियापछिको फलोअपमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले जलनको उपचार संवेदनशील हुने बताउँदै नबिल बैंकको यो सहयोगको प्रशंसा गरे।

प्रकाशित: Mar 01, 2026| 15:02 आइतबार, फागुन १७, २०८२
प्रतिक्रिया दिनुहोस्