काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रमुख राजेश झालाई पदमुक्त गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा झालाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
झालाई पूर्ववर्ती ओली सरकारले गत फागुन ७ गते प्रदेश प्रमुखमा नियुक्त गरेको थियो। त्यसअघिका प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेर झालाई नियुक्त गरिएको थियो।
प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा पूर्व सांसद तथा नेपाली कांग्रेसका नेता हरिशंकर मिश्रलाई सिफारिस गरिएको छ । मन्त्रिपरिषद बैठकले मिश्रलाई प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा सिफारिस गरेको हो ।
मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपति कार्यालयमा पत्र पठाइएको छ। महोत्तरीको पिपरा गाउँपालिका पिपरा बस्ने उनी नेपाली कांग्रेसका नेता स्वर्गीय रामनारायण मिश्रका छोरा हुन्। मिश्र नेपाली कांग्रेसबाट सांसदमा समेत निर्वाचित भएका थिए।