एजेन्सी- करिम बेन्जेमाको दुई गोल गरेपछि रियल मड्रिडले कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहिबार राति एको खेलमा जिरोनालाई ३-१ ले पराजित गर्दै रियल कोपा डेल रे’को सेमिफाइनमा प्रवेश गरेको हो ।
पहिलो लेगमा जिरोनालाई ४-२ ले पराजित गरेको रियलले समग्रमा ७-३ को जित निकालेको हो । रियलका लागि थप एक गोल मार्काेस लोरेन्टेले गरे । खेलको २७औं मिनेटमा करिम बेन्जेमाको गोलबाट रियलले सुरुवाती अग्रता लियो ।
पहिलो हाफ सकिन २ मिनेटमा बाँकी रहदाँ बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई पहिलो हाफमा २-० को अग्रता दिलाए । ७१औं मिनेटमा जिरोनाका युवा खेलाडी पेड्रो पोर्रोले गोल गर्दै खेललाई २-१ मा ल्याए ।
तर, ७६औं मिनेटमा मार्कोस लोरेन्टेले ड्यानियल सेवालेसको पासलाई सदुपयोग गर्दै रियललाई ३-१ को जित दिलाए । यससँगै कोपा डेल रेको सेमिफाइनलमा पुग्ने चार टोलीको टुङ्गो लागेको छ । अब रियलले रियल बेटिससँग खेल्नेछ । अर्को सेमिफाइनलमा बार्सिलोनाले भ्यालेन्सियासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४