काठमाडौं– १२ दिनअघि मृत अवस्थामा भेटिएकी कृशला चौधरीको हत्यामा संलग्न भएको आरोपमा दुई युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गत साउन १९ गते मृत भेटिएकी त्रियुगा नगरपालिका–६ मोहनपुरकी १७ वर्षीया कृशला चौधरीको हत्यामा संलग्न सप्तरीका दुई जना युवक पक्राउ परेका हुन्।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी बेदप्रसाद गौतमले झण्डै दुईसाताको अनुसन्धानपछि हत्यारा पत्ता लगेको बताए। उनले कृशलाको हत्यामा दुईजना संलग्न भएको प्रारम्भिक निष्कर्ष निस्केको बताए।
पक्राउ पर्नेमा सप्तरी सुरुङा नगारपालिका वडा नम्बर १ का २७ वर्षीय उचितलाल सदा तथा सोही स्थान बस्ने २३ विसे सदा रहेका छन्।
कृशलाका बुबा प्रेम चौधरीका अनुसार छोरी १३ गते जङ्गलमा घाँसदाउरा गर्न गएकी र सोही समयदेखि अचानक हराएकी थिइन्। खोजी गर्ने क्रममा साउन १९ गते स्थानीय राजदेवी सामुदायिक वनमा उनको बिभत्स अवस्थामा शव फेला परेको हो।
प्रहरीले लास बरामद गरेर पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा बुझाएपछि सोधखोजी गर्ने क्रममा २० गते कृशलाका बाबुले शव आफ्नी छोरीको भएको पहिचान गरेका थिए।
कृशलाका बुबा प्रेम चौधरीका अनुसार छोरी १३ गते जङ्गलमा घाँसदाउरा गर्न गएकी र सोही समयदेखि अचानक हराएकी थिइन्। खोजी गर्ने क्रममा साउन १९ गते स्थानीय राजदेवी सामुदायिक वनमा उनको बिभत्स अवस्थामा शव फेला परेको हो।
हातमा लगाएको डिजिटल घडी, घाँटीमा लगाएको बुढी, खुट्टाको डोरी र लुगाको टुक्रा तथा केही टाढा रहेको चप्पलबाट बुवा प्रेमकुमार चौधरीले शव छोरी कृशलाको भएको यकिन गरेको प्रहरीले जनाएको छ। अनुहार नचिनिने गरी कालो भएको, शरीरको कम्मरमुनि भाग क्षतविक्षत भएको हुनाले सामूहिक बलात्कारपछि हत्या गरेको अनुमान स्थानीयले गरेका छन्।
प्रहरीले घटना घटेको २ साता बित्नलाग्दासम्म अपराधी पत्ता लगाउन नसकेको भन्दै चौतर्फी दबाब बढेको थियो। राजनीतिक दलहरु, अधिकारकर्मी संघसंगठन, नागरिक समाज, महिला संघसंस्था, युवा, विद्यार्थी र बालबालिकासमेतले छिटो अनुसन्धान गरी दोषी पत्ता लगाएर काबाही गर्न दबाब दिँदै सदरमुकाममा विरोध प्रदर्शनसमेत गरेका थिए। त्यस्तै पीडितहरूको तर्फबाट विभिन्न संघसंस्थाले जिल्ला प्रहरी र प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउनुका साथै प्रेसविज्ञप्ती जारी गरेर सरकारको ध्यानाकर्षण गराएका थिए।
प्रहरीले हत्याको कारणबारे अनुसन्धान गरिरहेको जनाएको छ। ‘हामीले हत्यारा पक्राउ गरिसकेका छौं। अब चाडै हत्याको सत्यतथ्य पनि पत्ता लाग्ने छ’, अनुसन्धान धिकृत प्रहरी निरीक्षक मोहन थापाले नेपाल समयसँग भने।