काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा सभामा आफ्ना कुन्ठा पोखेर समय व्यतित गरेका छन्। राष्ट्रियसभा गृहमा बुधबार आयोजित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा कार्यक्रममा अधिकांश समय विषयभन्दा बाहिर गए र विपक्षीप्रति कुन्ठा पोख्न भ्याए।
उनले खेलकुद र विकासका विषयमा एक दुई शब्द भन्दा अरु केही खर्चेनन्। तर विपक्षीप्रति भने नाम नलिएर नै कुण्ठा पोखे। खेलकुदको विषयमा चर्चा गर्दै उनले द्रव्य शाहले दौडेर राजा बन्न शुरु गरेको सन्दर्भ जोडे। ओलीले अब द्रव्य शाहले जस्तो राजनीतिमा दौडेर सफलता प्राप्त गर्ने जमना नरहेको बताए।
कार्यक्रमका सभापति मदनकृष्ण श्रेष्ठले भ्रष्टाचार अन्त्यको विषय उठाउँदा कार्यक्रममा तालीको गडगडाहट चलेको थियो। तर प्रधानमन्त्रीले भने त्यसलाई समेत प्रतिवाद गरे। ‘मदनकृष्ण जीले भ्रष्टाचार अन्त्यको विषयमा म थप्न चहान्छु, केही नगरी भ्रष्टचार नगर्ने होईन। क्रियाशील हुनुपर्छ र भ्रष्टाचार पनि हुनुहुन्न।’
प्रधानमन्त्रीले कार्यक्रममा स्वीट्जरल्यान्डको डाभोसमा भएको जी-२० सेसनको सन्दर्भ समेत सुनाए। उनले सेसनमा सहभागि हुन आएका कतिपय देशलाई प्रतिपक्षले आफुविरुद्ध पोल लगाएको गुनासोसमेत गरे। उनले भने,‘लोकतन्त्रलाई कमजोर पार्ने काम गरिन्न, थप मजबुत बनाइन्छ, तर यसबारे यहाँ सम्म कुप्रचार आएछ’।
उनले तनहुँमा खोलेको गिरिजाप्रसाद कोइराला श्वास प्रश्वास केन्द्र अस्पताल आफूले अगाडि बढाउन खोज्दा शेरबहादुर देउवा र रामचन्द्र पौडेलले अवरोध गरेको बताए।
प्रधानमन्त्री ओलीले यो बर्ष सरकारले सतर्कता अपनाएका कारण एकजनाले पनि जाडोका कारण ज्यान नगुमाएको दाबी गरे। ‘प्रधानमन्त्रीले भने जहाँ जाडो बढेको छ त्यहाँ दाउरा र कम्मल तयारी हालतमा राखियो। ओलीले शिशिर योगीको 'यो देशमा म एउटा मानिस खोजी रहेछु'को सन्दर्भ जोड्दै, ‘त्यो मान्छे तपाईंकै अगाडि पछाडि दायाँबाँया छ भन्दै आफैंतर्फ लक्षित गरे।
तीन अर्बको लागत
त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको भरतपुर- १६ को यो जग्गा कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको थियो। क्रिकेट रंगशाला बनाउने भएपछि भरपुर महानगर हुँदै फाउन्डेसनलाई उपलब्ध गराएको हो।
२० विगाह ८ कठ्ठा क्षेत्रफलमा बन्ने रंगशालाको नाम गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हुनेछ। गुरुयोजना तयार भएको २ वर्षभित्र रंगशाला निर्माण गरी महानगरलाई हस्तान्तरण गरिने फाउन्डेसनका प्रमुख सीताराम कट्टेल धुर्मुसले बताएका छन्।
रंगशाला निर्माणको लागत ३ अर्ब अनुमान गरिएको छ। देश-विदेशका नेपालीहरुबाट प्राप्त हुने स्वैच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइने फाउन्डेसनका अध्यक्ष धुर्मुसले बताएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४