काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले सहिदको सपना साकार पार्न सबै तह र तप्काका व्यक्ति मन, वचन र कर्मले समर्पित भएर लाग्नु पर्ने बताएका छन् ।
सहिद दिवसका अवसरमा शुभकानन सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले विगतमा सहिदले गरेको योगदानको फलस्वरूप नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको बलियो जग बसेकोले यसको जर्गेनामा लाग्नु पर्ने बताएकी छिन् ।
उनले प्राप्त उपलब्धिको सदुपयोग गरी सामाजिक न्याय र समानतामा आधारित सामाजिक, आर्थिक र सांस्कृतिक रूपले समृद्ध समाज निर्माण गर्न सकेमा सहिदप्रति सच्चा सम्मान हुने सन्देशमा उल्लेख गरेकी छिन् ।
सहिदको बलिदानबाट प्राप्त उपलब्धिलाई सुदृढ पार्न सम्बद्ध सबैले आआफ्नातर्फबाट खेल्नुपर्ने भूमिका थप प्रभावकारी तुल्याउन सके सहिदप्रति वास्तविक सम्मान हुने राष्ट्रपतिले विश्वास व्यक्त गरिन ।
यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले प्रजातन्त्र, लोकतन्त्र र सङ्घीय लोकतान्त्रिक गणतन्त्र लगायत उपलब्धि प्राप्तिको मुख्य श्रेय सहिदलाई जाने बताएका छन् ।
शुभकामना सन्देश जारी गर्दै उनले नेपाली जनताले राजनीतिक अधिकार धेरै हदसम्म प्राप्त गरिसकेको तथा देश विकास र समृद्धिको मार्गमा अघि बढिरहेका सन्दर्भमा सहिदको सपना साकार पार्न सबै पक्ष एक भएर लाग्नुको विकल्प नभएको स्पष्ट पारे ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४