जनकपुरधाम- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले निर्माणाधीन हुलाकी मार्गलाई शहीद दुर्गानन्द झा मध्य तराई मार्ग नामाकरण गर्न सुझाव दिएका छन्।
शहीद दुर्गानन्द झाको ५५ औँ बलिदानी दिवसको अवसरमा नेपाली कांग्रेस नगर समिति र रामनारायण मिश्र चिन्तन प्रतिष्ठानले मंगलबार जनकपुरमा संयुक्त रुपले आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै निधिले यस्तो सुझाव दिएका हुन्।
दुर्गानन्द झा मुलुकको प्रथम गणतान्त्रिक शहीद रहेको उल्लेख गर्दै निधिले हुलाकी मार्गलाई उनको नामले नामाकरणका लागि लबिङ गर्न प्रदेश २ का नेता तथा कार्यकर्ताहरुलाई आग्रहसमेत गरेका छन्।
‘हुलाकी मार्ग मध्य तराई भएर झापा देखि कञ्चनपुरलाई जोडेको छ,’ निधिले भने,‘यस मार्गलाई दुर्गानन्द झा नामाकरण गरिए उहाँप्रति ठुलो सम्मान हुनेछ।’
आफू भौतिक पूर्वाधारमन्त्री छँदा दुर्गानन्द झा मार्ग नामकारण गर्न सबै दलको सहमति लिने प्रयास गर्दा मधेश केन्द्रीत दलका एक नेताले प्रस्ताव नै अस्वीकार गरेको निधिले बताए।
जनकपुर चुरोट कारखाना सञ्चालन गर्नेबारे संघीय उद्योग मन्त्री मातृका यादवले दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै कांग्रेस उपसभापति निधिले चुरोट कारखानको सम्पत्ति नेपालका केहि धनी घरानालाई बेच्ने दाउ रहेको दाबी गरे।
‘अहिले दुनियाँको कुनै सरकारले चुरोट र मदिरा कारखाना सञ्चालन गरेको छैन। तर हाम्रो मन्त्रीज्यूलाई चुरोट कारखाना रहर जागेको छ,’ निधले भने,‘प्राइभेट पब्लिक पार्टनरसीपको नाउँमा कारखानाको सम्पत्ति कब्जा गर्ने षडयन्त्र भइरेहेको छ। प्रदेश सरकारसहित यहाँका जनता सचेत हुनुपर्दछ।’
‘कारखाना सञ्चालनको नाउँमा देशिविदेशी शक्तिलाई बेच्ने योजना रहेको मलाई जानकारी छ,’ उनले भने,‘कारखाना सञ्चालन गर्न खोजेका मन्त्री कि त अनभिज्ञ हुनुहुन्छ कि कमिशनको लोभमा पर्नु भएको छ।’
कारखाना चलाउने नाममा पूर्वाधार अन्त्य गरेर जनकपुरबाट प्रदेशको राजधानी हटाउने षडयन्त्र भइरहेको उनको भनाइ थियो। प्रदेश सरकारको प्रयोगबाहेक अन्य कुनै प्रयोजनमा प्रयोग गरिए आफूहरु चुप लागेर नबस्ने उनको चेतावनी थियो। कारखानाको सम्पत्ति प्रदेश सरकारले मात्र प्रयोग गर्न सक्ने गरी मन्त्रिपरिषदको निर्णय रहेको स्मरण गराउँदै कुनै षडयन्त्र भए आन्दोलनका लागि तयार भएर बस्न निधिले कार्यकर्ताहरुलाई निर्देशन दिए।
प्रदेश २ को नामाकरण मिथिला–भोजपुरा हुनुपर्ने दोहराउँदै उपसभापति निधिले प्रदेश सरकारलाई प्रस्ताव ल्याउन आग्रह गरेका छन्। ‘हामीले प्रदेशको सार्वजनिक हितको विषयमा सरकारलाई सहयोग गर्दै आइरहेका छौं,’ निधिले भने,‘प्रदेश सरकारले पनि संघीय सरकार झैं गरे विरोधमा उत्र्न बाध्य हुने छौं।’
केपी ओली नेतृत्वको सरकार संघीयता, गणतन्त्र, लोकतन्त्र र मधेशविरोधी सरकार रहेको उनको आरोप थियो। आफूहरुले उठाएको ६ मध्ये एक माग सरकारले पुरा गरेको भएपनि अन्य मागहरु सम्बोधन नभएको भन्दै २१ माघमा हुने विरोध प्रदर्शनमा सहभागी हुन निधिले कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।
उक्त अवसरमा शहीद दुर्गानन्द झाकी श्रीमती काशीदेवी झालाई दोसल्ला र सम्मानपत्रले सम्मानित गरिएको थियो। कांग्रेस नगर समिति सभापति मनोज साह र रामनारायण चिन्तन प्रतिष्ठानका अध्यक्ष महेन्द्र मिश्रको संयुक्त अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य महेन्द्र यादव, प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादव, सांसद स्मृतिनारायण चौधरी, मिनाक्षी झालगायतका व्यक्तिहरुले दुर्गानन्द झाले दिएको योगदानको चर्चा गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४