जनकपुरधाम- माघ १५ तत्कालीन पञ्चायती सरकारले दुर्गानन्द झालाई मृत्युदण्ड दिएको दिन । मुलुकमा लोकतान्त्रिक गणतन्त्र ल्याउने सपना देखेका दुर्गानन्द २१ वर्षको युवा रहेका बेला उनलाई मृत्युदण्ड दिइएको थियो ।
लोकतन्त्र र गणतन्त्रका लागि सहादत प्राप्त गरेका दुर्गानन्दको स्मरण गर्दै हरेक वर्ष बलिदानी दिवस मनाइन्छ । यस वर्ष दुर्गानन्दको ५५ औं बलिदानी दिवस मनाइँदैछ ।
धनुषाको जटही हाल नगराइन नगरपालिका १९९४ वैशाख १४ गते दुर्गानन्दको जन्म भएको थियो । बुबा देवनारायण झा र आमा सुकुमारीदेवी झाको एकमात्र छोरा थिए, उनी । सानै उमेरदेखि क्रान्तिकारी स्वभावका दुर्गानन्दलाई मुलुकमा राजाको होइन, जनताको शासन हुनुपर्ने लागेको थियो । यही सोचका साथ दुर्गानन्द पञ्चायतविरोधी आन्दोलनमा होमिए ।
पहिलो जननिर्वाचित सरकारलाई अपदस्थ गरेर राजा महेन्द्रले जबरजस्ती पञ्चायत लादेको उमेर कमै भए पनि दुर्गानन्दले बुझिसकेका थिए । भारतका स्वतन्त्रता सेनानी भगत सिंह र चन्द्रशेखर आजादले उनलाई हदैसम्म प्रभावित गरेको थियो । भगत र चन्द्रशेखरले भारतलाई अंग्रेज शासकको औपनिवेशिक हटाउन खेलेको भूमिकाले हौसाएको थियो, दुर्गानन्दलाई ।
विद्यालय पढ्दै गर्दा २०१५ सालको प्रथम आमनिर्वाचनमा प्रजातन्त्रको पक्षमा होमिएका थिए, दुर्गानन्द । विद्यालयको पढाइ सकेर उच्चशिक्षाका लागि भारततर्फ लागे । भारतमा अध्ययन गरिरहँदा उनको सम्पर्क नेपाली कांग्रेसका नेताहरूसँग भयो । कांग्रेसका तत्कालीन नेताहरु भारतमा बसेर महेन्द्रविरुद्ध तानबाना बुनिरहेका थिए ।
सुरुमा निर्वासित जीवन बिताइरहेका महोत्तरी कांग्रेसका जिल्ला सचिव ज्ञानीशंकर गिरीसँग उनको सम्पर्क भयो । त्यसपछि गिरीले दुर्गानन्दलाई त्यसबेलाका विघटित संसद्का सदस्य सरोज कोइरालासँग उनको भेट गराए । क्रान्तिकारी स्वभावका सरोजसँगको भेटपछि दुर्गानन्दको जीवनमा नयाँ मोड आएको बताइन्छ । कांग्रेस नेताहरुको संगतले पञ्चायती शासनविरुद्ध संघर्ष गर्न थप ऊर्जा प्रदान गर्यो, दुर्गानन्दलाई ।
२०१७ साल पुस १ गते बिपी कोइराला नेतृत्वको जननिर्वाचित सरकारलाई अपदस्थ गरेका महेन्द्रप्रति उनको आक्रोश छँदै थियो । संयोगले जानकी मन्दिर दर्शन गर्न महेन्द्र जनकपुर आउने खबर दुर्गानन्दले थाहा पाए ।
कांग्रेस नेताहरुको योजनाअनुसार दुर्गानन्द २०१८ माघ ८ गते बम बोकेर जनकपुर पुगे । ९ माघमा जनकपुर पुगेर जानकी मन्दिरमा पूजाअर्चना गर्ने महेन्द्रको कार्यक्रम उनले जानकारी पाएका थिए । तत्कालीन राजा महेन्द्र आउने भएपछि जनकपुरको सुरक्षाव्यवस्था कडा पारिनु स्वाभाविक थियो । तर सुरक्षाव्यवस्थाको थोरै पनि परवाह थिएन हिम्मती र साहसिक दुर्गानन्दलाई ।
बम बाकेर जानकी चोकमा महेन्द्रलाई कुरेर बसिरहेका थिए, उनी । सुरक्षा निकायका खुफिया पनि बेखबर थिए, बम फ्याल्ने उनको यस योजनाबाट । साँझ ५ बजे राजा महेन्द्रको चढेको ल्यान्डरोभर गाडी रोकिनासाथ दुर्गानन्दले बम प्रहार गरे । संयोग नै थियो महेन्द्र चढेको गाडीमा प्वाल परे पनि उनी सुरक्षित थिए ।
दुर्गानन्दले अर्का कांग्रेसी साथी अरविन्द ठाकुरसँग मिलेर जनकपुर विमानस्थलमै महेन्द्रमाथि बम प्रहार गर्ने योजना बनाएका थिए । राजा महेन्द्रमाथि बम प्रहार गर्ने जिम्मेवारी अरविन्दलाई दिइएको थियो । कुनै कारणवश विमानस्थलमा बम प्रहार गर्ने योजना विफल भएको अवस्थामा दुर्गानन्दले जानकी मन्दिर पुग्ने महेन्द्रमाथि बम फ्याल्नुपर्ने थियो । तर अरविन्द विमानस्थलबाटै पक्राउ परेपछि दुर्गानन्दले महेन्द्रको गाडीलाई लक्षित गरेर जानकी मन्दिरमा बम प्रहार गरेका थिए ।
राजा महेन्द्रमाथि बम प्रहार गरे पनि तीक्ष्ण र फुर्तिलो स्वभावका दुर्गानन्दलाई भने प्रहरीले पक्राउ गर्न सकेन । उनी पुनः भारत पुग्न सफल भए । तर बमकाण्डको आरोपमा प्रहरीले ५९ जनालाई पक्राउ गरिसकेको थियो ।
बमकाण्डमा निर्दोष मानिसलाई पक्राउ गरी प्रहरीले कुटपिट तथा यातना दिइरहेको उनले थाहा पाए । तीन महिनापछि भारतको जयनगरबाट जनकपुर फर्कंदै गर्दा परवाहा स्टेसनबाट पक्राउ परे दुर्गानन्द ।
पक्राउ परेको दोस्रो दिन महोत्तरीको प्रकौलीस्थित सैनिक ब्यारेकमा ल्याई हेलिकप्टरले दुर्गानन्दलाई काठमाडौं पुर्याइयो । २०१९ भदौ १९ गते कुनै सुनवाइ नै नगरी विशेष अदालतले दुर्गानन्दलाई मृत्युदण्ड दिने फैसला सुनायो । त्यतिबेलाका प्रधानन्यायाधीश भगवतीप्रसाद सिंहको इजलासले फैसला सुनाएको थियो । २०१९ फागुन २० गते सर्वोच्च अदालतका न्यायाधीशद्वय दुर्गादत्त उपाध्याय र भैरवप्रसाद उपाध्यायको संयुक्त इजलासले सदर गर्यो ।
सर्वोच्चले फैसला सदर गरेको ठिक एक वर्षपछि २०२० माघ १५ गते राति सुन्धारास्थित केन्द्रीय कारागारमा गोली हानी उनको हत्या गरियो । दुर्गानन्दलाई फाँसी दिने फैसला अदालतले सुनाए पनि तत्कालीन राजा महेन्द्रको ठाडो आदेशले दुर्गानन्दलाई गोली हानेर हत्या गरिएको थियो । गोली हानेर हत्या गरिएका दुर्गानन्दको उमेर त्यतिबेला २१ वर्षमात्र थियो ।
त्यतिबेला ब्राह्मणलाई मृत्युदण्ड दिन नहुने व्यवस्था मुलुकी ऐनले गरेको थियो । ब्राह्मणलाई मृत्युदण्ड दिन नहुने व्यवस्थाकै कारण १९९७ सालमा टंकप्रसाद आचार्य र रामहरि शर्मालाई मृत्युदण्ड नदिई आजीवन कारावासको सजाय सुनाइएको थियो । तर दुर्गानन्दलाई मृत्युदण्ड दिनैपर्ने महेन्द्रको अडानका कारण मुलुकी ऐन नै संशोधन गरियो । २०२० भदौ १ मा मुलुकी ऐनमा संशोधन गरेर दुर्गानन्दलाई मृत्युदण्डको सजाय सुनाइएको थियो ।
मृत्युदण्ड दिइनुभन्दा पाँच दिनअघि माघ १५ गते दुर्गानन्दकी आमा सुकुमारी र श्रीमती काशीदेवी झालाई जनकपुरबाट काठमाडौं लगिएको थियो । दुर्गानन्दलाई मृत्युदण्ड दिन कसाइ पुग्दा आमा र श्रीमती दुवैजना कारागारकाे गेटमै उभिरहेको बताउँछन् वरिष्ठ पत्रकार राजेश्वर नेपाली ।
मृत्युदण्ड दिइनुभन्दा केही दिनअघि मात्र दुर्गानन्दले आफ्ना साथी अरविन्द र दलसिंह थापालाई भनेका थिए, ‘म अब कहिल्यै नफर्किने गरी लामो यात्रामा जाँदैछु । तर चिन्ता नलिनुस्, मुलुकमा गणतन्त्र अवश्य आउनेछ ।’
६० वर्षअघि दुर्गानन्दले देखेको सपना अहिले पूरा भएको छ । मुलुकमा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संस्थागत भएको छ । पञ्चायती व्यवस्था अन्त्य गरी प्रजातन्त्र र गणतन्त्रका लागि आफ्नो ज्यान दिएका दुर्गानन्दलाई सहिद घोषणा गर्न ५२ वर्ष लाग्यो । उनी २०७२ सालमा सरकारबाट सहिद घोषणा भए । दुर्गानन्द नेपालको पहिलो गणतान्त्रिक सहिद हुन् ।
२०४६ सालको पहिलो जनओन्दोलनपछि मुलुकमा प्रजातन्त्र आइसकेपछि जानकी मन्दिर परिसरमा रहेको राजा महेन्द्रको सिलिक रहेको स्थानमा दुर्गानन्दको प्रतिमा राख्न सरकारले प्रस्ताव गरेको थियो । तर महेन्द्रका छोरा तत्कालीन राजा वीरेन्द्रले सरकारको यो प्रस्ताव अस्वीकार गरेको बताइन्छ । यद्यपि आन्दोलनकै क्रममा आन्दोलनकारीले महेन्द्रको सालिक जानकी मन्दिर परिसरबाट तोडिदिएका थिए ।
मुलुकमा गणतन्त्र ल्याउन आफ्नो ज्यानै गुमाएका दुर्गानन्दका श्रीमती काशीदेवीलाई पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन तराईमधेस लोकतान्त्रिक पार्टीले समानुपातिक कोटाबाट सभासद बनाउनुबाहेक राज्यले खासै केही गरेको देखिँदैन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४