काठमाडौं-दूरसञ्चार कम्पनी एनसेलले जेनजी प्रदर्शन क्रममा कार्यालयमा भएको तोडफोड,आगजनीविरुद्ध प्रहरीमा उजुरी दिएको छ ।एनसेलले सोमबार प्रहरीमा उजुरी दिएको हो। लैनचौरस्थित एनसेलको मुख्य कार्यालय ‘एनसेल आइकन’ सहित देशका विभिन्न क्षेत्रमा रहेका कार्यालयहरूमा गत मंगलबार जेनजी प्रदर्शनका क्रममा तोडफोड, आगजनी भएको थियो।
उजुरीमा यी घटनासँग संलग्न अपराधीमाथि आवश्यक अनुसन्धान गरी कानुनको दायरामा ल्याई हदैसम्मको सजायको माग गरिएको छ। उनीहरूबाट डकैती गरी लगिएको सामान फिर्ता दिलाउन साथै आगजनीबाट क्षति भएको सम्पत्तिको क्षतिपूर्ति समेत दिलाइ भराइ पाऊँ भनी एनसेलले प्रहरीमा दिएको उजुरीमा उल्लेख गरिएको छ।
प्रहरीमा दिइएको उजुरी अनुसार कम्पनीले घटनामा पुगेको क्षतिको विवरण तथा लुटिएका सम्पत्तिको सूची उपलब्ध गराएको छ। साथै घटना क्रममा कैद भएका सम्पूर्ण सीसीटीभी फुटेज पनि अनुसन्धानलाई सहयोग पुग्ने उद्देश्यले प्रहरीलाई हस्तान्तरण गरिएको एनसेलले जनाएको छ।
गत सोमबार र मंगलबा जेनजी पुस्ताका युवाहरूले काठमाडौँ लगायत देशभर प्रदर्शन गरेका थिए। प्रदर्शनको मौकामा अराजक समूहले सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी तथा तोडफोड गरेको थियो।