काठमाडौं- नेपालले शुक्रबारदेखि युएईसँग तीन एकदिवसीय र तीन टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्दैछ । खेल नेपाली समय अनुसार शुक्रबार बिहान ११ः१५ बजेबाट सुरु हुनेछ । उक्त युएईसँगको सिरिजपछि नेपाल एकदिवसीय र टी-२० अन्तर्राष्ट्रिय वरियतामा आउनेछ ।
अहिलेसम्म युएई र नेपालबीच १५ खेलमा भेट हुँदा युएई निकै अगाडी छ । जसमा युएईले ११ खेलमा जित हात पारेको छ भने नेपालले तीन खेलमा जित हात पारेको छ । एक खेलमा भने दुबै टिमले बराबरी खेलेका छन् । पछिल्लो समय भने नेपाली क्रिकेटको प्रदर्शन पहिले भन्दा फेरिएको पनि छ ।
यो पटकको युएई टुरमा अधिकांश नेपालका युवा खेलाडीले स्थान नाएका छन् । त्यसमाथि पनि कम अनुभव बटुलेका खेलाडी लिएर टिम नेपाल युएई पुगेको छ । कप्तान पारस, ज्ञानेन्द्र, विनोद, करण, प्रदीप, बसन्तबाहेक सबै खेलाडी भरखरका युवा छन् । दीपेन्द्र, ललितनारायण, आरिफ, सोमपाल, रोहित, सन्दीप जोरा, सन्दीप लामिछाने, अभिनाष, भीम र पवन यी सबै २३ वर्ष भन्दा कम उमेरका छन् ।
पछिल्लो खबर अनुसार टोलीका महत्त्वपूर्ण सदस्य रहेका भेट्रान स्पिनर वसन्त रेग्मी बिरामी परेपछि युवा स्पिनर ललित नारायण राजवंशीले यूएईविरुद्ध शुक्रबार हुने पहिलो एकदिवसीयमा डेब्यु गर्ने सम्भावना प्रबल रहेको छ । वसन्त यूएई आएदेखि ज्वरोले ग्रसित भएका कारण बिहीबार प्रशिक्षणमा सहभागी भएनको खुलासा भएकोछ ।
यता, युएईका मुख्य तीन खेलाडी नहुँदा नेपाललाई केही सहज हुने मनिएको छ । युएईका कप्तान रोहन मुस्तफा, रहमद राजा र रहमद शेहजाद प्रतिबन्धमा परेका कारण नेपालविरुद्धको सिरिजमा सहभागि हुने छैनन् ।
त्यस्तैले यस सिरिजका लागि युएईको कप्तानी मोहम्मद नाभिदलाई दिइएको छ । नेपाली खेलाडी सम्बन्धी राम्रोसँग जानकार भएका नाभिदले पोखरा प्रिमियर लिग र एभरेष्ट प्रिमियर लिगमा संगै खेलेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४