बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • तालिवानले नपाउने भयो अमेरिकामा भएको अफगानी सम्पत्ति, कहाँ जालान् सयौं दोभासे?

तालिवानले नपाउने भयो अमेरिकामा भएको अफगानी सम्पत्ति, कहाँ जालान् सयौं दोभासे?

तालिवानको सहज कब्जापछि अमेरिकी सेनाले अफगानिस्तानको राजधानी खाली गरिरहेको बेला अधिकारीले भने, 'अफगानिस्तानमा रहेको कुनै पनि केन्द्रीय बैंकको सम्पत्ति तालिवानलाई उपलब्ध गराइने छैन।'
 |  सोमबार, साउन ३२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३२, २०७८

काबुल- अमेरिकी खातामा राखिएका कुनै पनि अफगान सञ्चितिमा तालिबान समूह पहुँचबाट वञ्चित हुने अमेरिकी प्रशासन अधिकारीले सोमबार बताएका छन्। तालिवानको सहज कब्जापछि अमेरिकी सेनाले अफगानिस्तानको राजधानी खाली गरिरहेको बेला अधिकारीले भने, 'अफगानिस्तानमा रहेको कुनै पनि केन्द्रीय बैंकको सम्पत्ति तालिवानलाई उपलब्ध गराइने छैन।'

National life

अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार अप्रिलको अन्त्यमा केन्द्रीय बैंकको कूल सञ्चिति ९.४ अर्ब डलर पुगेको थियो। तर यस विषयमा जानकार एक व्यक्तिका अनुसार ती मध्ये अधिकांश रकम अफगानिस्तान बाहिर राखिएको । संयुक्त राज्य अमेरिकामा अफगान सञ्चितिको कति हिस्सा छ भन्नेबारे अहिले स्पष्ट पारिएको छैन। 

दोभासे विस्थापित

बीस वर्ष पहिले तालिवानलाई अमेरिकाको नेतृत्वमा नेटो सैनिक अफगानिस्तानमा पुगेपछि उनीहरूलाई भाषासम्बन्धी सहयोग गरेका हजारौँ अफगानी नागरिक तथा अन्य सहयोगका लागि अफगानिस्तान पुगेका विदेशीहरू तालिवान समूहको निशाना बन्नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। तालिबानको डरका कारण देशका विभिन्न स्थानबाट हजारौँ मानिसहरू भागेका छन्।

अमेरिका, बेलायतलगायत यूरोपेली मुलुकहरूले आफ्ना नागरिकलाई काबुलबाट फिर्ता गर्ने तयारी गरिरहेका छन् भने कतिपय एसिया, मध्यपूर्वलगायतका सीमा क्षेत्रका नागरिकहरू पनि आफ्नो सरकारले फिर्ता गर्ने पर्खाइमा रहेका छन्। 

Laxmi sunrise bank
kumari

यसैबीच नेटो सेनाका लागि २० वर्षदेखि काम गरेका दोभासेहरूका लागि तालिबानको सत्तारोहण चिन्ताको विषय हुन पुगेको छ। तालिबानले उनीहरूलाई देशद्रोहीका रूपमा हेर्ने गरेको छ। नेटो सैनिकको अफगानिस्तानबाट फिर्तासँगै उनीहरूले तालिवानको निशाना बन्ने भन्दै चिन्ता व्यक्त गरिरहेका छन्।

दोभासेहरूले आफूलाई बेलायत स्थानान्तरण गर्ने विषयमा स्पष्टता होस् भनेर अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन्। बेलायतले यस पहिले नै दोभासेको काम गरेका कम्तीमा एक हजार ८०० अफगान र उनीहरूका परिवारलाई बेलायत प्रवेश गर्न दिइसकेको बताएको छ।

ट्रम्पद्वारा बाइडेनको राजीनामा माग

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले वर्तमान राष्ट्रपति जो बाइडेनको राजीनामा मागेका छन्। अफगानिस्तानबाट असरफ घानी नेतृत्वको सरकार परास्त हुनुमा बाइडेन प्रशासन जिम्मेवार रहेको भन्दै उहाँले बाइडेनको राजीनामा मागेका हुन्। 

अफगानिस्तानमा शान्तिपूर्ण र सफलतापूर्वक घानी सरकारलाई टिकाइराख्न र तालिबान लडाकूहरुलाई पराजित गर्न बाइडेन प्रशासन असफल भएको ट्रम्पको भनाइ छ।

आइतबार जारी गरेको वक्तव्यमा ट्रम्पले लेखेका छन्, 'अफगानिस्तानमा देखिएको असफलताका कारण अव बाइडेनले राजीनामा दिनुपर्ने बेला आएको छ।'

अफगानिस्तानमा अहिले जे भइरहेको छ, त्यो सबैको दोषी बाइडेन प्रशासन नै भएको ट्रम्पको आरोप छ। आफू यो कार्यकालका लागि पनि राष्ट्रपतिमा निर्वाचित भएको भए अफगानिस्तानमा यस्तो अवस्था नआउने आशय पनि उनले व्यक्त गरेका छन्। 

अफगानिस्तानका राष्ट्रपति घानीले देश छोडेको र तालिबान लडाकूहरुले सत्ता कब्जा गरेको थाहा पाउनासाथ ट्रम्पले यस्तो वक्तव्य जारी रेका हुन्।

तालिवान विद्रोहीहरु देशको केन्द्रीय राजधानी काबुल प्रवेश गरेपछि उनले देश छाड्नुभएको हो। देश छाडेपछि उनले थप रक्तपात हुन नदिन र अरु लाखौँको मृत्यु हुने घटनाबाट जोगाउनका लागि आफूले शान्तिपूर्ण तरिकाले देश छोडेको स्पष्ट पारेका छन्।  

स्रोतका अनुसार अब तालिबान लडाकूहरुकोतर्फबाट अली अहमद जलाली देशको अन्तरिम राष्ट्रपति बन्नेछन्। 

मर्केलको दलले भन्यो- अफगानिस्तानबाट पश्चिमी सेनाको बहिर्गमन गलत

अफगानिस्तानबाट बिना तयारी पश्चिमी सेनाको बहिर्गमन हुने निर्णय नै ’सबैभन्दा ठूलो भूल’ भएको जर्मन चान्सलर एन्जेला मर्केलको दल सीडीयू प्रमुखले सोमबार बताएका छन्। 

उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) सैनिकको अफगानिस्तानबाट फिर्ता भएपछि तालिबान समूहले सत्ता आफ्नो कब्जामा लिएपछि सीडीयू पार्टीका प्रमुख आर्रिन लाश्चेटले भने, 'अन्तरराष्ट्रिय समुदायको यो सहभागिता सफल भएन भन्ने कुरा स्पष्ट छ।'

'यो नेटोले आफ्नो स्थापना कालदेखि नै भोगेको सबैभन्दा गम्भीर परिणाम हो र हामी नयाँ विकासक्रमको परिवर्तनलाई हेरिरहेका छौँ,' उनले भने। 

सेप्टेम्बरको निर्बाचनपछि मर्केलको चान्सलर पदको उत्तराधिकारी बन्ने प्रबल सम्भावना रहेका सीडीयूका उम्मेदवार लाश्चेटले भने, 'जर्मनीको अहिलेको प्रमुख ध्यान अफगानिस्तानबाट जर्मन सैनिकको उद्धार कार्यमा केन्द्रित गर्नुपर्छ। तर हामी यस उद्धार मिशनपछि प्राप्त कारणहरू र निष्कर्षका बारेमा कुरा गर्नेछौं।' 

दुई दशकपछि तालिवानको पुनरागमन

अफगानिस्तानको सत्ता सन् १९९६ देखि २००१ सम्म तालिबान लडाकू समूहले कब्जामा लिएका थिए। सोभियत सङ्घ फर्किएपछि सन् १९९० को दशकमा कट्टरपन्थी धार्मिक अभियान तालिबान सुरु भएको थियो। दक्षिणपश्चिमबाट आफ्नो प्रभाव विस्तार गरेको तालिबानले १९९५ मा इराकसँग सीमा जोडिएको हेरात प्रान्त नियन्त्रणमा लिएका थिए। त्यसको एक वर्षमै राजधानी काबुल नियन्त्रणमा लियो र राष्ट्रपति बुरानुद्दिन रब्बानीलाई हटाएर शासन सत्ता हातमा लिएका थिए।

इस्लामिक गणतन्त्र अफगानिस्तानलाई सरकारविरोधी तालिवानी लडाकूले धेरै वर्षदेखि युद्धभूमि बनाएका थिए। सन् २००१ देखि सुरु भएको तालिवानी लडाकूको हत्या–हिंसाको शृङ्खलाले अब विश्राम पाउला कि भन्ने आशामा जनता रहेका थिए। सन् २००१ अक्टोबर ७ बाट फेरि ‘अफगान युद्ध’ आरम्भ भएको थियो। अमेरिकाको न्युयोर्कस्थित विश्वप्रसिद्ध ट्विन टावर मा सन् २००१ को सेप्टेम्बर ११ मा भएको आतङ्ककारी आक्रमण र आगलागीबाट सो टावर धराशायी भएपश्चात सो हमलाका दोषी मानिएका अल–कायदाका प्रमुख ओसामा बिन लादेनलाई खोज्न अफगानिस्तानमा अमेरिकी सेना भित्रिएका थिए।

त्यसपछि सन् २००१ को डिसेम्बर २२ मा हमिद कारजाई अफगानिस्तानको अन्तरिम राष्ट्रपति हुनुभएको थियो। सन् २००१ को डिसेम्बरमा जर्मनीमा अफगानिस्तान सम्बन्धी भएको अन्तर्राष्ट्रिय सम्मेलनले अफगानिस्तनका प्रभावशाली राजनीतिज्ञहरु मध्येबाट हमिद काइजाइलाई छ महिनाको लागि अन्तरिम राष्ट्राध्यक्ष्य बनाइएको थियो। त्यसपछि उहाँको कार्यकाल २ वर्ष थपगरी २००४ सम्म अन्तरिम राष्ट्रपति बनाइएको थियो। सन् २००४ र २००९ मा भएको राष्ट्रपतीय निर्वाचनबाट उहाँ राष्ट्रपतिमा निर्वाचित भई २०१४ सेप्टेम्बरसम्म राष्ट्रपतिको रुपमा रहे। उनीपछि  अहिलेका राष्ट्रपति असरफ घानी २०१४ र २०१९ मा राष्ट्रपतिमा निर्वाचित भएका थिए। 

प्रजातान्त्रिक प्रक्रियाबाट विश्वमा आफ्नो नाम स्थापित गराएको अफगानिस्तानमा पुनः तालिबान सशस्त्र लडाकू समूहको आगमन भएको छ। तालिबानले अफगान जनतालाई नडराउन भनिए पनि जनता डराएका छन्। विमानस्थलमा देश छोडी भाग्नेहरुको लाइन लामो छ। विश्वले नै अफगान जनतालाई यहाँबाट विदेश जान दिन तालिवानलाई आग्रह गरेका छन्। अमेरिका, बेलायत अष्ट्रेलियालगायत ६० देशले संयुक्त विज्ञप्ति निकाल्दै अफगान जनतालाई शरण दिन तयार भएको बताएका छन्।  

हाल अफगानिस्तानको प्रायः प्रान्तीय राजधानीलाई कब्जा गर्दै दुई दशकपछि तालिबानको पुनः आगमन भएको हो। अफगानिस्तानको एकपछि अर्को सहर तालिबानका लडाकू राजधानी काबुल कब्जा गरेपछि राष्ट्रपति असरफ घानीलगायत सरकारका उच्चस्तरीय व्यक्तिहरुले देश छाडेका छन्। राष्ट्रपति घानी सरकारसामु तालिबानसँग संघर्ष गर्ने वा आत्मसमर्पण गर्ने मात्र बाटो थियो। तालिबानले अफगानिस्तानको ३४ ओटा प्रान्तमध्ये प्रायः प्रान्तीय राजधानी आइतबारसम्म कब्जा गरिसकेका थिए। आइतबार दिउँसैदेखि तालिबानी लडाकूहरु राजधानी काबुल प्रवेश गरेका थिए। काबुलस्थित राष्ट्रपति कार्यालयमा नै तालिबान लडाकूहरु प्रवेश गरिसकेका छन्।  

अफगानिस्तानमा रहेका सबै अमेरिकी सेनालाई आउँदो ११ सेप्टेम्बरसम्म त्यहाँबाट घर फर्काउने घोषणा हालै अमेरिकी राष्ट्रपति जो बाइडेनले गरेका थिए। तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसले २० वर्षअघि ह्वाइट हाउसको जुन हलबाट विश्वमा आतंकवाद विरुद्धको युद्धको घोषणा गरेका थिए। सोही हलबाट राष्ट्रपति जो बाइडेनले अमेरिकी सेना फिर्ता गर्ने घोषणा गरेका थिए। यसरी अमेरिकामा प्रवेश गरेका नेटो सैनिकलाई उनीहरु त्यहाँ पठाइएको २०औँ वर्षगाँठ पारेर फिर्ता गर्न लागिएको थियो। 

यो घोषणाले अमेरिकी कूटनीतिक वृत्तमा नयाँ बहस शुरु भएको थियो। कतिपयले यसलाई विवादास्पद पनि भनेका थिए। आतंकवादका विरुद्धमा अफगानिस्तानमा के पर्याप्त सुरक्षा छ भन्ने प्रश्न पनि उठेको थियो। एकातर्फ अफगान सरकार तथा तालिबानबीचको शान्ति प्रक्रिया शुरु भएको भए पनि टुंगोमा पुग्न सकेको थिएन। यो शान्ति वार्ता सफल भएपछि अमेरिकी सेना फर्कने कुरामा सहमति भएको भए राम्रो हुने बताइएको थियो। तर त्यो सम्भव हुन सकेन। अमेरिकी सेना फर्काइएको ४५ दिनमा अफगान सरकार ढलेको छ। 

अमेरिकामा केही महिना मात्रअघि त्यहाँको अमेरिकी गुप्तचर एजेन्सीको प्रतिवेदनले अन्तर अफगान शान्ति सम्झौता बिना नै सेना फर्काउँदा केही वर्षभित्र नै काबुलमा अहिलेको सरकार नरहने र यसले गर्दा फेरि देशमा अल कायदाको उदय हुन पनि सक्ने देखाएको थियो। अहिले सशस्त्र लडाकू समूह तालिबानको उदय भएको छ। वर्तमान राष्ट्रपति जो बाइडेन अफगानिस्तानमा सधैँ युद्ध मात्र गरिरहने होइन भन्ने पक्षमा रहेका थिए। त्यसैले पनि बाइडेनले सेनाको बर्हिगमनको समयसीमा अब नलम्ब्याउने बताएका थिए। 

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको समयमा तालिबानसँग सन् २०२१ को मे १ सम्म अमेरिकी सेना फर्काउनुपर्ने सहमति भएको थियो। ट्रम्पको यही सम्झौतालाई बाइडेनले निरन्तरता दिएका थिए। यस अवधिभित्र सेना फिर्ता नगरिए युद्ध सुरु हुन पनि सक्ने चेतावनी तालिवानले बारम्बार दिने गरेका थिए। अमेरिकी इतिहासमै अमेरिकी फौज कुनै मुलुकमा झण्डै २० वर्ष बसेको यो पहिलो घटना हो। कतिपयले अमेरिकी सेनाको अफगानिस्तानबाट फिर्ती भएसँगै तालिबानको विजयका रुपमा पनि लिएका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानमा जारी रहेको युद्धको अन्त्यको घोषणा गर्दै त्यहाँ रहेका अमेरिकी सेना मे १ तारिखदेखि नै अमेरिकी फौज फिर्ता गर्ने प्रक्रिया शुरु गर्न भनेका थिए। सन् २००१ मा अमेरिकी हवाई हमला घोषणा गरिएको ह्वाइट हाउसको कक्षबाट उनले सो कुराको घोषणा गरेका थिए। यो अमेरिकाको सबैभन्दा लामो युद्ध अन्त्य गर्ने बेला हो र यसै अनुसारको निर्णय हामीले अब गरिसकेका छौँ। अमेरिकी अधिकारीहरूका अनुसार सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको वल्र्ड ट्रेड सेन्टरमा भएको आतंकवादी हमलाको २० औँ वार्षिकी पारेर सैनिकहरूलाई फिर्ता ल्याउन लागिएको हो। अमेरिकी राष्ट्रपति बाइडेनको यो घोषणासँगै सेप्टेम्बर ११ अघि नै सबै अमेरिकी सैनिकले अफगानिस्तान छाड्ने भएका थिए। बाइडेनको सो घोषणको बेलामा अफगानिस्तानमा नौ हजार ६०० नेटो सैनिक रहेका छन्।

ती नेटो सैनिकमध्ये कम्तीमा पनि २ हजार ५०० जना अमेरिकी सेना रेहका छन्। तर पनि अफगानिस्तानमा रहेका अमेरिकी सैनिकको संख्या भने समय समयमा थपघट भइरहने गर्दछ। तर पनि अमेरिकी सञ्चारमाध्यमहरूले भने अहिले अफगानिस्तानमा रहेको अमेरिकी सेनाको कूल  संख्या ३ हजार ५०० को नजिक रहेको जनाएका छन्।

राष्ट्रपति बाइडेनले अफगानिस्तानमा २ हजार ४८८ जना अमेरिकी सेनाको यस लामो युद्धका क्रममा निधन भएको जानकारी पनि  दिनु भएको थियो। साथै उहाँले यस युद्धका क्रममा २० हजार भन्दाबढी अमेरिकी सेना घाइते भएका पनि जानकारी दिनु भएको थियो। विदेशी सेनाले अफगानिस्तान छाडे पनि लडाइँ जारी राख्ने तालिबानले बताउँदै आएका थिए। सोही समयमा राष्ट्रिय गुप्तचर निकायले सार्वजनिक गरेको मूल्याङ्कन प्रतिवेदनमा तालिबान समूह आफूले सैन्य विजय हासिल गर्नसक्ने खतरा देखाएको थियो।

अफगान नागरिकले युद्धबाट ठूलै क्षति व्यहोर्नु परेको छ र खासगरी अफगान महिलामा तालिबानको सक्रियता र उदयले थप त्रास उत्पन्न गराएको छ। अफगानिस्तानमा सुन्नी इस्लामको बाहुल्यता छ। तालिबान समूहलाई परास्त गर्न भन्दै एक दशकअघि अफगानिस्तानमा अमेरिकी सेनाको संख्या एक लाखको हाराहारीमा थियो। तर पूर्वराष्ट्रपति ट्रम्पको कार्यकालमा यो संख्या ३ हजार ५०० मा आइपुगेको छ।

उता दक्षिण एसियाली देश अफगानिस्तानमा शान्ति सुरक्षा प्रदान गर्ने काममा खटिइरहेका नेटो सैनिकले सन् २०१४ को अन्त्यमा अफगानिस्तान छोडेपछि त्यहाँको सुरक्षा व्यवस्था कमजोर हुँदै गइरहेको पनि कतिपयको भनाई छ। सन् २००१ मा अमेरिकाको न्युयोर्कस्थित ट्वीन टावरमा अल कायदाको आतङ्ककारी आक्रमणमा सयौँं निर्दोष व्यक्ति मारिएपछि उक्त सञ्जालका नेता ओसामा बिन लादेनलाई खोजी गर्ने क्रममा अमेरिकी नेतृत्वमा नेटो सेना अफगानिस्तान प्रवेश गरेको थियो।

मध्य तथा दक्षिण एसियाली क्षेत्रमा विगत कम्तीमा पनि दुई दशकभन्दा बढी समयदेखि अत्यन्त अशान्त रहेको देश अफगानिस्तानबाट सन् २०१४ को डिसेम्बर ३१ बाट नेटो आवद्ध प्रायः सैनिक फर्किएका थिए। नेटो सैन्य बलको फिर्तीसँगसँगै अफगानिस्तानमा मात्र नभएर दक्षिण एसियामा नै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भोलिको अफगानिस्तानको सुरक्षा अवस्थालाई लिएर चिन्ता छाएको थियो। आज आएर अफगानिस्तानलाई लिएर विश्वको यो चिन्ता सत्यतामा परिणत भएको छ। 

युद्ध सकिएको तथा देशको सुरक्षा अब अफगानिस्तानी सेना स्वयंले गर्न सक्ने नेटो सैन्यबल फर्किए पनि त्यहाँ केही अमेरिकी सेनालाई थप केही समय फिर्ता नलग्ने निर्णय गरिएको थियो। ती सैनिकलाई युद्ध गर्न मैदानमा भने नखटाइने तर अफगानिस्तानी सैनिकलाई युद्धकला सम्बन्धी तालिम, सल्लाह र सहयोग मात्र गरिने घोषणा भएको थियो। अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता भएको ४५ दिनमा तालिबान लडाकूले यता देशै कब्जा गरेका छन्। 

अफगानिस्तानमा नेटो र तालिबानबारे केही तथ्यहरुः

तालिबानको सत्ता- सन् १९९६ देखि २००१ 

ट्विन टावर आतङ्ककारी आक्रमण-सन् २००१ को सेप्टेम्बर ११ मा भएको

ट्विन टावर आतङ्ककारी आक्रमण-सन् २००१ को सेप्टेम्बर ११ मा भएको

अफगान युद्ध आरम्भ-सन् २००१ अक्टोबर ७

हमिड कारजाई अन्तरिम राष्ट्राध्यक्ष्य-२००१ को डिसेम्बर २२

अफगान युद्धमा गएका नेटो-सेना १ लाख ३० हजार  

युद्धकाल मारिएका सर्वसाधारण- ४७२००

अफगानिस्तानका मारिएका अमेरिकी सेना-२४८८

युद्धका क्रममा घाइते भएका अमेरिकी सेना-२० हजार

अफगानिस्तानमा मारिएका नेटो सेना-११४४

अफगान यद्धमा भएको खर्च-१२ अर्ब अमेरिकी  डलर

अफगान  युद्धको अवधि- २० वर्ष

अफगान यद्धमा मारिएका अफगान सेना-६६ हजार

अफगान यद्धमा मारिएका अफगानी पत्रकार-८५

अफगान युद्धमा मारिएका विदेशी पत्रकार-१५

तालिाबानको पुनःआगमन-सन् २०२१ अगस्त १५ 

प्रकाशित: Aug 16, 2021| 21:31 सोमबार, साउन ३२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।