काठमाडौं– पछिल्लो समय तालिबानले आक्रमण तीव्र पारेको अफगानिस्तानबाट पछिल्लो १० दिनमा १६४ जना नेपाली स्वदेश फर्केका छन्। अध्यागमन विभागका अनुसार ५ अगस्टदेखि १५ अगस्टसम्ममा उनीहरु स्वदेश फर्केका हुन्।
‘प्रारम्भिक तथ्यांक अनुसार १६४ जना नेपाली आएका छन्। विस्तृत विवरण राख्न विमानस्थल कार्यालयलाई भनेका छौं,’ विभागका प्रवक्ता झंकनाथ ढकालले भने।
पछिल्लो समय अमेरिकी हस्तक्षेप बढेको भन्दै आक्रमण तीव्र पारेको तालिबानले आइतबार अफगानिस्तानको राजधानी काबुल कब्जामा लिएको थियो। आइतबार नै अफगानस्तिानका राष्ट्रपति अशरफ गनीले देश छाडेपछि तालिबानले आफूहरुको जित भएको घोषणा गर्दै अब शान्ति स्थापना गर्ने बताएको छ। तर पनि काबुलमा रहेका विदेशीहरु त्रसित छन्। विभिन्न देशले जहाज चार्टर्ड गरेरै आफ्ना नागरिक लगिरहेका छन्।
नेपाल सरकारले पनि अफगानस्तिानबाट नेपालीहरुको उद्धार गर्ने भन्दै आवश्यक पहल भइरहेको जानकारी दिएको छ। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आइतबार अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्न सरकारलाई निर्देशनसमेत दिएको थियो।