आइतबार, पुस १३, २०८२

झोलुंगे पुल बनेपछि डेढ घण्टाको यात्रा पाँच मिनेटमा छोटियो

 |  मंगलबार, असार १७, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, असार १७, २०८२

गुल्मी- वर्षौंदेखि खोलामा पुल नहुँदा स्थानीयले पाँच मिनेटको दूरीमा पुग्न पनि घण्टौँ समय खर्चिनु पर्दथ्यो। वारिपारि गर्नु परेमा वर्षाको समयमा जोखिम मोलेर खोला तर्नु पर्थ्याे। तर, अहिले भने पाँच मिनेटको दूरीमा सहजैसँग स्थानीय वारिपारि गर्दै आएका छन्।

National life

दुई वडाका गाउँ जोड्नका लागि पुलले निकै सहज बनाएको छ। रुरुक्षेत्र गाउँपालिका-१ र २ अन्तर्गत थोर्गा तथा ग्वादीको बीचमा झोलुंगे पुल निर्माण भएसँगै स्थानीय यतिबेला खुसी बनेका छन्। पुल बनेपछि वारिपारि गर्न र अर्मपर्म गर्न, बिहे भतेर र आपत्विपद्मा  गाउँलेलाई एकापसमा सहयोग गर्न सजिलो बनाएको छ।

लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत एक करोड ८६ लाख रुपैयाँ लागतमा रुरुक्षेत्रमा उक्त पुल निर्माण गरिएको हो। झोलुंगे पुलले पालिकाको वडा नम्बर १ को गोलपोखरी र वडा नम्बर २ को चौर फाँटलाई जोडेको छ।

झोलुंगे पुलले दुई गाउँलाई नजिक बनाउनाका साथै किसानलाई उत्पादिन कृषिजन्य सामग्री बजारसम्म पुर्याउन थप सहज भएको गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले बताए।

स्थानीय तह निर्माणपछि रुरुक्षेत्रमा मात्रै ग्वादीसहित छम्दी, तालखोला र गोलपोखरी-बेँसीकाचौर गरेर चारवटा झोलुंगे पुल निर्माण भइसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए। पुलको अभावमा विद्यार्थी नहुँदा थोर्गाको कालीगण्डकी प्राथमिक विद्यालयलाई रिडीमा समायोजन गर्नुपर्ने अवस्था बनेको थियो।

Laxmi sunrise bank
kumari

विद्यार्थीलाई विद्यालय पुग्न डेढदेखि दुई घण्टा पैदल हिँड्नुपर्ने बाध्यता थियो। अहिले ग्वादीका विद्यार्थी पुल तर्ने बित्तिकै बस चढ्न पाउँने स्थिति बनेको रुरुक्षेत्र-२ ग्वादीका बासिन्दा ६६ वर्षीय त्रिलोचन ज्ञवालीले जानकारी दिए। रामकृष्ण एसआरजेभीले निर्माण गरेको उक्त पुलको लम्बाइ तीन सय ४२ मिटर र उचाइ एकसय ३७ मिटर रहेको छ। रासस

प्रकाशित: Jul 01, 2025| 17:01 मंगलबार, असार १७, २०८२
प्रतिक्रिया दिनुहोस्