आइतबार, पुस १३, २०८२

'देशभर मनसुनी वायुको प्रभाव छ, सचेत रहौं'

 |  मंगलबार, असार १०, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, असार १०, २०८२

काठमाडौं- मनसुन देशभरि फैलिएका कारण आवश्यक सचेतता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ। विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ।

National life

विभागले सोमबार साँझ निकालेको मौसमसम्बन्धी बुलेटिनमा मनसुनी प्रभाव बढ्दै गएकाले नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप भई दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा असुविधा हुन सक्ने जनाइएको छ। यस्तो अवस्थामा जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ। 

मंगलबार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ। कोसी प्रदेश र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हलुकादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेशका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ। 

कोसी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। यसैगरी मंगलबार राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हलुकादेखि मध्यम वर्षाको सम्भावना छ। 

गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। सामान्यतया नेपालमा मनसुन जुन १३ मा भित्रिन्छ र अक्टोबर २ मा बाहिरिन्छ। तर यस वर्ष भने औसत समयभन्दा १५ दिनअघि नै नेपालमा मनसुन भित्रिएको छ।

Laxmi sunrise bank
kumari

यस वर्ष वर्षायाममा सरदरभन्दा बढी वर्षा हुने मौसमविद्हरूले अनुमान गरेका छन्। गत साल पनि औसतभन्दा बढी नै वर्षा भएको थियो।

प्रकाशित: Jun 24, 2025| 07:00 मंगलबार, असार १०, २०८२
प्रतिक्रिया दिनुहोस्