शुक्रबार, असार ५, २०८३

सुनसरीमा हिउँदे मकै उत्पादन वृद्धि

 |  शुक्रबार, असार ६, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ६, २०८२

सुनसरी- सुनसरीमा हिउँदे मकैको उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ। कृषि ज्ञान केन्द्र सुनसरीका अनुसार आर्थिक वर्ष २०८०/८१ को तुलनामा आव २०८१/८२ मा हिउँदे मकै उत्पादन दुई दशमलव ३८ प्रतिशतले बढेको छ।

National life

आव २०८०/८१ मा १० हजार ६४० हेक्टर क्षेत्रफलबाट ८३ हजार १२ मेट्रिकटन मकै उत्पादन भएका आव २०८१/८२ मा ८४ हजार ८०२ मेट्रिकटन मकै उत्पादन भएको केन्द्रका सूचना अधिकारी प्रविनलाल श्रेष्ठ जानकारी दिए। उनका अनुसार अहिले किसानले हाइब्रिड प्रजातिको हिउँदे मकैखेती गर्दै आएका छन्।

किसानले हाल रामपुर हाइब्रिड १०, पार्नियर ३३ र ५३, पार्नियर ३५ जस्ता उन्नत जातको मकै बढी लगाउने गरेका छन्। सुनसरीको बराहक्षेत्र नगरपालिका-११ का किसान रोशन गुप्ताले दुई बिघा बाँझो जमिनमा हिउँदे मकैखेती गर्दा ९० क्विन्टलभन्दा बढी उत्पादन भएको भएको बताए।

अन्य बालीको तुलनामा हिउँदे मकै छिटो पाक्ने, मेहनत र खर्च पनि कम लाग्ने साथै बिक्रीका लागि बजारको समस्या नहुने भएकाले यस खेतीमा किसानको आकर्षण बढेको हो। गुप्ताले उत्पादन गरेको मकै स्थानीय बजारमा प्रतिकेजी ३२ देखि ३५ रुपैयाँका दरले बिक्री भइरहेको छ। हिउँदे मकै मंसिर, पुसमा रोपेर चैत र बैशाखमा पाक्ने गर्छ।

करिब एकसय ४० देखि एकसय ५० दिनमा मकै पाक्ने गरेको कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ। केन्द्रले किसानलाई तालिम तथा प्राविधिक सहयोग निरन्तर गर्दै आएको छ। सुनसरीको भोक्राहा, देवानगञ्ज, इनरुवा, दुहबी, कोसी, हरिनगरा बराहक्षेत्रलगायत क्षेत्रका किसानले हिउँदे मकैखेती गर्दै आएका छन्। रासस

Shivam cement

प्रकाशित: Jun 20, 2025| 18:01 शुक्रबार, असार ६, २०८२
प्रतिक्रिया दिनुहोस्