आइतबार, पुस १३, २०८२

कञ्चनपुरमा बस्ती जोगाउन जैविक तटबन्ध निर्माण

 |  शुक्रबार, असार ६, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ६, २०८२

कञ्चनपुर- खेलमैदान, कभर्ड हल र बस्ती जोगाउनका लागि शुक्लाफाँटा नगरपालिका-१० स्थित सनबाेरा नदीमा जैविक तटबन्ध निर्माण गरिएको छ। बाँसको प्रयोग गरी नदीले भू-क्षय गर्दै आएको तीन सय मिटर क्षेत्रमा जैविक तटबन्ध निर्माणको कार्य गरिएको छ।

National life

उपकरणको सहायताले नदीमा बाँस गाडेर त्यसमा बाँसकै छेस्काले बुनेर जैविक तटबन्ध निर्माण गर्ने कार्य गरिएको नगरपालिकाको पूर्वाधार विकास शाखा प्रमुख दीपक धामीले बताए। जैविक तटबन्ध निर्माणका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सूचीकृत भई सय दिनको रोजगारीका लागि छनोट भएका व्यक्तिहरुलाई परिचालन गरिएको उनकाे भनाइ छ।

दक्ष कामदार, मेसिनरीको भाडा, इन्धन खर्च, बाँस खरिदलगायतका लागि नगरपालिकाले पाँच लाख रुपैयाँ बजेट खर्च गरेको छ। नदीमा जैविक तटबन्ध निर्माण भएपछि खेलमैदानको सुरक्षासँगै हालै निर्माण भएको कभर्ड हल क्षेत्रको जग्गा भूक्षय हुनबाट रोकिने उनले बताए।

नदी छेउमै रहेको खल्ला बस्तीका बासिन्दालाई पनि नदीको बाढीबाट सुरक्षा हुने शाखा प्रमुख धामी बताउँछन्। ‘बाँसको जैविक तटबन्ध उपयोगी, वातावरणमैत्री र कम लागतमै निर्माण हुन्छ’ उनले भने, ‘कटान रोक्न, नदी तटीय क्षेत्रको प्राकृतिक पुनःस्थापना गर्न सहायक हुन्छ।’

जैविक तटबन्ध निर्माण भएको क्षेत्रको तटीय क्षेत्रमा बोट बिरुवा, घाँसपात रोप्ने तयारी भइरहेको शाखा प्रमुख धामीले बताए। घाँस र बोटबिरुवाको जराले माटोलाई बाँधेर राख्ने कार्य गर्छ, भूक्षय हुन नदिने भएकाले त्यसका लागि कार्य अगाडि बढाइने उनको भनाइ छ।

Laxmi sunrise bank
kumari

सस्तो र स्थानीय साधनस्रोतमै निर्माण हुने जैविक तटबन्ध वातावरणमैत्री र दीर्घकालीन संरक्षणको उपायका रुपमा रहेको शाखा प्रमुख धामीको भनाइ छ। सो क्षेत्रको भूक्षयको उच्च जोखिममा रहेको ठाउँमा भने जलस्रोत तथा सिँचाइ विभागको १५ लाख रुपैयाँ लागतमा ९० मिटर तारजाली र ढुंगाको तटबन्ध निर्माण गरिएको छ। रासस

प्रकाशित: Jun 20, 2025| 17:01 शुक्रबार, असार ६, २०८२
प्रतिक्रिया दिनुहोस्