काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला राष्ट्रिय फुटबल टोली र महिला यू १९ टोलीलाई नगद जनही ५० हजार पुरस्कारसहित सम्मान गर्ने भएको छ ।
गत नोभेम्बरमा म्यानमारमा सम्पन्न भएको ओलम्पिक छनोटको दोस्रो चरणमा पैवश गर्न सफल महिला राष्ट्रिय फुटबल टोलीका हरेक सदस्यलाई ५० हजार रुपैयाँ दिने एन्फा कार्यसमितिको बैठकले बिहिबार निर्णय गरेको छ ।
यससँगै एएफसी यू-१९ महिला च्याम्पियनसिपको दोस्रो चरणमा पुग्न सफल भएको महिला युवा टोलीका सदस्यलाई पनि जनही २५ हजार रुपैयाँ दिने एन्फाले निर्णय गरेको छ ।
अर्को महिना विराटनगरमा आयोजना हुने महिला साफ च्याम्पियनसिपको प्रशिक्षणमा रहेका ३० खेलाडीलाई पनि एन्फाले जनही १० हजार रुपैयाँ दिने भएको छ । पहिलो सहभागितामै नेपाली टोली टोकियो ओलम्पिक २०२० को महिला फुटबलअन्तर्गत एसियाको प्रारम्भिक छनोट चरण पार गर्न सफल भएको थियो ।
नेपाल उत्कृष्ट तेस्रो टोलीको रुपमा दोस्रो चरणमा प्रवेश गर्न सफल भएको थियो । उक्त समूहबाट समूहबाट म्यानमार समूह विजेता तथा भारत समूह उपविजेताको रुपमा दोस्रो चरणमा प्रवेश गर्न सफल भएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४