बिहीबार, साउन १४, २०८३

वैशाखदेखि जापान जाँदै नेपाली कामदार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- आगामी वैशाखदेखि नेपाली कामदारलाई जापान लैजान द्रुत गतिमा गृहकार्य अघि बढेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

वैदेशिक रोजगारीका लागि नेपालबाट श्रमिकहरु जापान लैजाने सम्बन्धमा बुधबार नेपाली र जापानी प्रतिनिधिमण्डलबीच औपचारिक छलफल भएको थियो। छलफलमा विदेशी श्रमिकको व्यवस्थापन गर्ने सम्बन्धमा जापान सरकारबाट जारी भएका नयाँ कानुनी प्रावधानबारे जापानी पक्षले नेपाली पक्षलाई जानकारी गराएको थियो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले व्यवस्थित, सुरक्षित र मर्यादित रुपमा नेपाली श्रमिक जापानमा पठाउने सन्दर्भमा पारस्परिक हित प्रवद्र्धन हुनेगरी समझदारी कायम गर्न श्रमिक आप्रवासनका विविध आयाममा छलफल भएको जकाकारी दिए।

‘पारदर्शी र प्रतिस्पर्धी पद्धतिबाट उपयुक्त विधि, प्रणाली र संयन्त्रको विकास गरी आप्रवासनका क्षेत्रमा विश्वव्यापी रुपमा स्थापित भएका नवीनतम मान्यता एवं मापदण्डअनुरुप श्रमिक पठाउने विषयमा जोड दिएका छौं,’ उनले भने, ‘बैठकमा आगामी दिन द्विपक्षीय संवाद कायम गर्दै  उच्चस्तरको समझदारी गरी छिट्टै नेपाली श्रमिकले नयाँ व्यवस्थाअनुरुप जापानमा काम गर्न पाउने वातावरणको सिर्जना हुनेछ।’ त्यसका लागि दुवै देशले थप गृहकार्य गर्ने सहमति भएको छ।

त्यसैगरी नेपाली कामदारले जापानमा सिकेको ज्ञान, सीप र अनुभवलाई उद्यमशीलताका माध्यममार्फत नेपालको विकासमा योगदान पुर्‍याउने गरी दुवै देशबीच सहकार्य गर्दै जाने सहमति भएको छ।

जापानको मन्त्रिपरिषद्ले गत महिना विदेशी कामदारसम्बन्धी एक सय २६ बुँदे नीति पारित गर्दै नेपालसहित ११ मुलुकबाट कामदार लैजाने निर्णय गरेको थियो।

जापानले नेपालसहित कम्बोडिया, चीन, इन्डोनेसिया, मंगोलिया, म्यानमार, थाइल्यान्ड, फिलिपिन्स, भियतनामलगायतका देशबाट कामदार लैजाने निर्णय गरेको छ। जापानले विदेशी कामदारले गर्नुपर्ने कामका लागि १४ औद्योगिक क्षेत्र तोकेको छ।

पहिलो ५ वर्षमा यी मुलुकहरूबाट ३ लाख ४५ हजार १ सय ५० कामदार जापान जानेछन्। यसमध्ये नेपाललाई कति संख्यामा कोटा दिइन्छ भन्नेबारे यकिन भइसकेको छैन। कामदारका रुपमा जापान जान भने कुनै शुल्क लाग्ने छैन।

श्रम,रोजगार तथा सामाजिक सुरक्षा जापान रोजगारीको मोडालिटी र सेवा सुविधाबारे टुंगो लगाउन आवश्यकताअनुसार दुई देशका प्राविधिक समितिको बैठक बसिरहेको छ। जापानले आउँदो अप्रिलदेखि कामदार लैजाने जनाएको छ।

नेपाल र जापानबीच भने यसअघि नै श्रम सम्झौता छ। नेपालले हालसम्म श्रम सम्झौता गरेका ८ देशमध्ये जापान एक हो। यद्यपि नेपालले संस्थागत रूपमा १ सय १० र व्यक्तिगत तवरमा १ सय ७२ देशमा श्रम स्वीकृति दिने गरेको छ। मन्त्रालयका अनुसार यतिखेर जापानका वैधानिक तवरले गएका नेपालीको संख्या करिब २६ हजार छ।

जापानले आउँदो पाँच वर्षमा तीन लाख ४५ हजार युवा नेपाललगायत चीन, कम्बोडियाजस्ता स्रोत मुलुकबाट लैजाने घोषणा गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्