बुधबार, साउन १३, २०८३

कुलमानले भने : आकाशमा त टावर बन्दैन नि?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- कोशी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत धरान उपमहानगरपालिको वडा नम्बर २० मा देखिएको  समस्या पहिचान र समाधानका उपाय खोज्न कार्यदल गठन गरिएको छ।

एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा शनिबार धरानमा भएको सरोकारवालाको भेलाले सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीको संयोजकत्वमा कार्यदल गठन गरेको हो।
 
कार्यदलमा वडाध्यक्ष, आयोजना प्रमुख, उपमहानगरपालिका इन्जिनियर, सरोकार समिति, ठेकेदार तथा परामर्शदाता कम्पनी, स्थानीय राजनीतिक दलबाट एक/एक जना प्रतिनिधि रहेका छन्। कार्यदललाई आइतबारबाट काम सुरु गर्ने र सात दिनभित्र समस्या पहिचान गरी उपायसहितको प्रतिवेदन मुख्यमन्त्री समक्ष पेश गर्ने कार्यदेश दिइएको छ। 

धरान उपमहानगरपालिकाले प्रस्तावित रुटबाट प्रसारण लाइनको निर्माण गरिएमा उपमहानगरपालिका २० को क्षेत्रमा स्थापित, निर्माणाधीन र पहिचान भएका पर्यटकीय स्थलहरुलाई प्रत्यक्ष/अप्रत्यक्ष रुपमा नकारात्मक असर पर्ने भन्दै त्यसलाई करिब दुई सय मिटर पश्चिमबाट लैजान प्राधिकरणलाई लिखित रुपमै आग्रह गरेको थियो। यसबाट आयोजनाको निर्माण रोकिएको छ। 

प्राधिकरणले भने उपमहानगरपालिकाले उठाएका विषयलाई प्रसारण लाइनले कुनै असर नगर्ने, असर पर्ने केही क्षेत्रहरुलाई लाइनको चेक सर्भे गर्ने क्रममा संबोधन गरिसकिएको बताएको छ। सम्पूर्ण प्रकृया पूरा गरी निर्माण भइरहेकोले आयोजनाको रुट सार्न नसकिने बताउदै आएको छ। उपमहानगरपालिकाले नै प्रसारण लाइनको रुट परिवर्तन गर्न आग्रह गरेपछि विवाद सुरु भएको थियो। 

मुख्यमन्त्री राई, सभामुख, सुनसरी १ का सघीय सांसद, प्रमुख जिल्ला अधिकारी, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलनमान घिसिङ, उपमहानगरपालिका कार्यवाहक मेयरसहितको टोलीले शनिबार  प्रसारण लाइनको स्थलगत निरीक्षण गरेका थिए। 

प्राधिकरणले अहिले प्रसारण लाइनको रुट भेडेटार-छोटी, मोरङ-सर्दू जलाधार क्षेत्र-तमाखाम-सालबोटे-चिण्डे डाँडा-भञ्ज्याङ-गोर्खा मेमोरियल पार्क-जलकन्या सामुदायिक वन हुँदै लैजाने प्रस्ताव गरिएको छ।
 
उपमहानगरपालिकाले भने यो रुटलाई परिवर्तन गरी भेडेटार-चुलिकोट(घुमाउने डाँडा)-खैरे-कोकाहा खोला-भालु ढुंगा, सर्दू खोला हुँदै लैजान भनेको छ। 

उपमहानगरपालिका अनुसार अहिले त्यस क्षेत्रमा विष्णुपादुका मन्दिर रहेको र ब्रिटिस गोर्खा मेमोरियल पार्क, बोटानिकल गार्डेन, ओशो ध्यान शिविर निर्माणाधीन अवस्थामा छन्। कोकाखोलामा कृत्रिम तालको अध्ययन, साहसिक पर्यटनको रुपमा प्याराग्लाइडिङको व्यवसायीक उडान, रक क्लाइम्बिङ, साइक्लिङ तथा हाइकिङका रुट पहिचाइ भई निर्माण भइरहेको उपमहानगरपालिकाले जनाएको छ। 

प्राधिकरणले भने चेक सर्भेको समयमा धरानका तत्कालीन नगर प्रमुख तथा सम्बन्धित सरोकारवालाहरुसंग छलफल गरि चिन्डे डाँडाको प्याराग्लाइडिङ्ग प्वाईन्ट र प्रस्तावित भ्यू टावरलाई असर नपर्ने गरि प्रस्तावित भ्यू टावरबाट तीन सय मिटरभन्दा माथिबाट कायम गरिएको छ।

‘आकाशमा त टावर बन्दैन नि’

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइन निर्माणमा जताततै अवरोध हुँदा काम नै प्रभावित भइरहेको बताए। ‘हेटौडा-ढल्केबर-इनरुवा ४०० केभी प्रसारण लाइनलाई सप्तकोसी पार गराउन नदीभित्र ४० मिटर खनेर ७ वटा टावर खडा गर्नु पर्ने जोखिमयुक्त काम छ’,उनले भने ‘हुँदा-हुँदा नदीभित्र टाबर खडा गर्न पनि बिरोध भइरहेको छ। वनमा, निजी जग्गापछि नदीमा समेत टावर बनाउन बिरोध भइरहेको छ।’ यस्तो अवस्थामा टावर कहाँ बनाउने,’ उनको प्रश्न छ ‘आकाशमा त टावर बन्दैन नि’ 

उनकाअनुसार उपमहानगरपालिकाले भनेजस्तै प्रसारण लाइनको रुट परिवर्तन गर्न प्राविधिकरुपमा मिल्दैन। ‘उपमहानगपालिकाले उठाएका विषयलाई प्रसारण लाइनले कुनै असर गरेको छैन, यहाँको रुट परिवर्तन गरिएमा यसको प्रभाव मुलुकभर पर्छ। जसले प्रसारण लाइनको मात्रै नभएर मुलुककै विकास ठप्प पार्छ,’ उनले भने ‘प्रभावितलाई दिन सकिने सामाजिक सुरक्षाका विषयमा छलफल गर्न खुल्ला छौं तर रुट परिवर्तन गर्ने प्राविधिक विषयमा प्रवेश नगरौं ।’
 
नेपाल सरकार, प्राधिकरण र भारतीय एक्जिम बैकको सहुलियतपूर्ण ऋणमा एक नम्बर प्रदेशमा भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोसी करिडोरको निर्माण गर्न लागिएको हो। 

प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाको ५१६ मेगावाट विद्युत यही प्रसारण लाइनमा जोड्ने गरी विद्युत खरिद सम्झौता (पीपीए) गरिसकेको छ। ती आयोजना निर्माणको विभिन्न चरणमा छन्। प्राधिकरणले प्रसारण लाइन निर्माण गर्न नसकेमा ती आयोजनाबाट उत्पादित विद्युत खेर जाने अवस्था छ।

करिडोरको पहिलो प्याकेजमा इनरुवा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार १०५ किलोमिटर २२० केकी डबल सर्किट प्रसारण लाइन निर्माण जुन २०१९मा सक्ने लक्ष्यका साथ काम भइरहेको छ। यसको अनुमानित लागत तीन करोड ७५ लाख अमेरिकी डलर छ। 

दोस्रो प्याकेजको इनरुवा, वसन्तपुर, वानेश्वर र तुम्लिङटारमा २२० केभीको सब स्टेसन निर्माण फेबु्रअरी २०२०मा सक्ने लक्ष्यका साथ काम भइरहेको छ। प्याकेजको अनुमानित लागत दुई करोड ५३ लाख डलर छ। 

तेस्रो प्याकेजमा वसन्तपुर-ढुंगेसाँघु (ताप्लेजुङ) ३३ किलोमिटर प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भई काम शुरु भइसकेको छ। दुई करोड २० लाख डलर अनुमानित लागत रहेको आयोजनाको काम डिसेम्बर २०२०मा सक्ने लक्ष्य राखिएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्