शनिबार, फागुन १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

खुला संग्रहालय अर्थात् भक्तपुर

 |  बिहीबार, फागुन १, २०८१

रेणु त्वानाबासु

रेणु त्वानाबासु

बिहीबार, फागुन १, २०८१

ntc landingntc landing

भक्तपुरको नाम लिनासाथ धेरैले नेपालकै सबैभन्दा अग्लो प्यागोडा शैलीको न्यातापोल (पाँचतल्ले) मन्दिर, पचपन्न झ्याले दरबारको सहरका रूपमा मात्र सम्झन्छन्। दरबार क्षेत्र अथवा त्योभन्दा बढी हेरे, सुनेको भए–दतात्रय क्षेत्र। तर यतिमा मात्रै सीमित छैन भक्तपुर। ऐतिहासिक सहर त हुँदै हो, यसबाहेक यहाँको संस्कृति, परम्परा, मठमन्दिर, पाटीपौवा, जात्रापर्व, चालचलन र जीवनशैलीको विविधताले गाउँ र सहरको मौलिकपन एकै ठाउँमा भेटिन्छ।

himalayan bank box

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहकै शब्दमा भक्तपुर एउटा खुला सङ्ग्रहालय हो। यो एउटा खुला विश्वविद्यालय पनि हो, जहाँबाट धेरै कुरा सिक्न सकिन्छ। भक्तपुर मूर्त र अमूर्त सम्पदाहरुको सङ्गमस्थल हो। यहाँ विश्व सम्पदामा सूचीकृत पाँचतल्ले मन्दिर, सुनको ढोका तथा यहाँका कलासंस्कृति मात्रै होइन, यो ठाउँ जीवन सिक्ने थलो पनि हो। अलेक्जेण्डर पावेलले आफनो पुस्तकमा पनि भक्तपुर नघुम्नु भनेको आधा संसार नघुम्नुजस्तो हो भनेका छन्।

मौलिक घर
भक्तपुर नगरपालिका क्षेत्रमा भने प्रतिपर्यटक १५ अमेरिकी डलर प्रवेश शुल्क लाग्छ। यहाँ दैनिक सालाखाला एक हजार विदेशी पर्यटक घुम्न आउँछन्। भक्तपुरमा पर्यटकलाई आकर्षित गर्ने पक्षमध्येका एक हो, यहाँका घरका बनावट। भक्तपुरमा परम्परागत शैलीका घर धेरै देखिन्छन्। यहाँ धेरैले व्यावसायिक प्रायोजनका लागि यस्ता परम्परागत शैलीको देखिने घर बनाएका छन्। 

होटल, रेष्टुराँ सञ्चालन गरी पर्यटक तान्नका लागि यस्ता घर बनाएको धेरै देखिन्छन्। पुरानो सहरको जीवन्तताका लागि भक्तपुर नगरभित्र आधुनिक घर बनाउन नपाइने भक्तपुर नगरपालिकाको नियम छ। मोहडामा ढलान देखाउने नपाइने, माथिल्लो तल्लामा स्ल्याब नदेखिने गरी छाना राख्नुपर्नेलगायतका नियम नगरपालिकाको छ। यसका लागि अगाडिको मोहडामा लाग्ने खर्चमा कुल खर्चमा ३५ प्रतिशत खर्च  सहयोगस्वरुप नगरपालिकालें उपलब्ध गराउँछ। 

पहिलो टेराकोटा भवन 
भक्तपुरको सुकुलढोकाबाट पाँच मिनेटको दूरीमा टेराकोटा भवनको अवलोकन गर्न सकिन्छ। यो भवन पूरै इँटैइँटाले बनेको छ। माटोबाट बनेको आकृतिलाई पोलिसकेपछि निस्कने रुपलाई टेरोकोटा भनेर बुझिन्छ। यस भवन नै नेपालको पहिलो टेराकोटा भवन हो। अरु घर, मन्दिर, भवनहरूमा झ्याल, टोरण, टुँडालहरु काठको हुन्छ भने यो भवनमा रहेको झ्याल, टोरण, टुँडाल, आँखीझ्याल सबै इँटाको छ। यो शैलीको भवनलाई टेराकोटा भवन भनिन्छ। 

नेपाल संवत् ८२७ मा राजा भूपतिन्द्र मल्लको शासनकालमा हालको भक्तपुर नगरपालिका–६ तुछिमला टोलमा यसको निर्माण भएको थियो। न्यातापोल मन्दिर निर्माणपश्चात् बाँकी रहेको सरसामानको प्रयोग गरी यो भवन बनाएको हो भनिएको छ। यस भवनमा गणेशको मूर्तिका साथै आकाशभैरव र अवाल परिवारहरुको आँगनसमेत रहेको छ।

त्यस्तै घरहरुको लाममा तौलाछें टोलमा अवस्थित तलातुन्छी गणेश द्यःछें हो। यसमा विश्वकर्मा भैल प्याख खलः विश्वकर्मा धिमे खलः, विश्वकर्मा धा बाजा खलः, डाफा भजन, बासुरी बाजा, लाखे प्याख खलः समावेश छन्। टेराकोटाको एक अलौकिक नमूना रहेको यस घरमा श्रीगणेशको मूर्ति इँटाले बनाइएको छ। घरको ढोकामा प्रजापतिहरुको पुर्खौली माटोको भाडा बनाउने कामको कलात्मक कला राखिएको छ भने दैनिक जीवनमा प्रयोग गरिएका पानी थाप्ने, रक्सी पार्ने, चिउरा कुट्ने, बत्ती कात्ने, जाँतोमा मकै पिस्ने, खर्पन बोकी खेत जानेलगायतका त्यतिबेलाका कामलाई कलात्मक कला टेराकोटामा उत्तारिएको छ। विभिन्न प्रजापतिका गुठीहरु पहलमा २०७८ सालमा यो भवनको निर्माण गरिएको थियो।

टाइचिन चिउरा
भक्तपुरको अर्को पहिचान हो, टाइचिन चिउरा। नेवारी समुदायका हरेक भोजमा टाइचिन चिउरा नभई हुँदैन। यहाँको टाइचिन चिउरा विशेष मिठासको हुन्छ। ताजा तात्तातो टाइचिन चिउराले त खानाका पारखीहरुलाई लोभ्याउँछ। केही वर्षअघिसम्म टोलटोलमा टाइचिन चिउराको मिल देख्न सकिन्थ्यो। तर आजभोलि टाइचिन चिउरा कसरी बन्छ भनी हेर्नका लागि नागपोखरीस्थित वीरेन्द्र जतिले सञ्चालन गर्दै आएको मिल र भक्तपुर नगरपालिका–५ भुलाछें टोलतिर जान सकिन्छ। 

हाकुपटासी
भक्तपुरको अर्को आकर्षण हो हाकुपटासी (परम्परागत कालो फरिया) अर्थात नेवारी महिलाको परम्परागत पहिरन। यो यहाँको मौलिक पहिरन हो। पहिले भक्तपुरका ज्यापु समुदायका महिलाले आफ्नो लागि चाहिने लुगा आफँै बुनेर तयार पार्ने चलन थियो। पहिला यसको तान मेसिन हरेक किसानको घरघरमा हुन्थ्यो। हाकुपटासी बनाउन हाते तान, चर्खा, फेलु (धागो बेर्ने), तुकी आदि प्रयोग गरिन्छ। आजभोलि हाकुपटासी वा नेपाली कपडा उत्पादन हेर्नको लागि भक्तपुरको लिवाली, व्यासीस्थित औद्योगिक क्षेत्र वा आदर्श खोरेमा गएर अवलोकन गर्न सकिन्छ। हिजोआज विद्युतीय मेसिनले पनि बुन्ने गरिएको छ।

बाजागाजा धिमे, धाँ, बासुरी
भक्तपुर अर्को पहिचान हो, बाजगाजा। जात्रापर्वलगायतका विशेष पूजाआजामा बाजा बजाएको सुन्न पाइन्छ यहाँं। चाडपर्वमा भक्तपुरभरि सार्वजनिक रुपमा नै बाजागाजाको गुञ्जायमान हुन्छ। टोलटोलमा बाजागाजा प्रशिक्षण लिनेको भीड लाग्छ। 

काष्ठकला
काष्ठकलाले भक्तपुरको अर्को पहिचान झल्काउँछ। यहाँका मयुर झ्याल तथा अन्य मठमन्दिरमा प्रयोग हुने काठको बुट्टाले पनि भक्तपुरको पहिचानलाई उजागर गरेको छ। मठमन्दिरमा फरकफरक बुट्टा कोरिएका काठको प्रयोग गरिएको पाइन्छ। यो भक्तपुरस्थित इनाचो, ताथली, बराही, च्याम्हसिँह, भक्तपुर औद्योगिक क्षेत्रभित्र प्रत्यक्ष हेर्न सकिन्छ। भक्तपुरको हरेका घरको झ्याल, मूलढोका तथा मठमन्दिरमा प्रयोग गरिने काठका तोरनले पर्यटकलाई आकर्षक बनाएको पाइन्छ। आन्तरिक वा बाह्य पर्यटकलाई मायाको चिनो काठको बनेको मयुरको झ्याल वा अन्य परम्परागत बुट्टेदार झ्याल दिने चलन छ।

मूर्तिकला
भक्तपुरको प्रायः मन्दिरहरुमा ढुङ्गाबाट बनाइएको सिँह, बो सिँह अर्थात् उड्ने सिँह, विभिन्न देवीदेवताको मूर्तिहरु ढुङ्गाबाट बनाइन्छ। कतिपय मन्दिरहरु त ढुङ्गाले मात्र पनि बनेका छन्। यसले पुरानो भक्तपुुरलाई जीवन्त राख्ने काम गरेको छ। भक्तपुरको दरबारस्क्वारमा रहेको सिद्धिलक्ष्मी मन्दिर, नृत्य बात्सला मन्दिर ढुङ्गाले मात्र पनि बनेका छन्।

सुकुल भोज
नेवार समुदायले खानाको परिकार र भोज गर्ने तरिका पनि अन्य समुदायको तुलनामा भिन्न छ। तीे भोजमध्ये सुकुल भोजको भिन्नै विशेषता छ। सुकु भ्वय अर्थात् सुकुलमा लहरै बसेर खाने भोजको अवलोकन र खानेकुराको स्वाद लिन नेवार समुदायमा बच्चाको पास्नी, सूर्यदर्शन, व्रतबन्ध, विवाह, वार्षिकोत्सव, रथारोहण गुठीको भोजमा लिन सकिन्छ। झ्व भ्वये अर्थात् सुकुल भोजमा चिउरा, लप्ते, अचार, हरियो लसुन, द्याकागु ला (झोल भएको राँगाको मासु), गेडागुडीका परिकार (केराउ, चना, सिमी, सिम्पु) काउली, आलु, छ्याला (तामाको झोल भएको तरकारी) तकोला (ठूलाठूला टुक्रा गरिएको राँगाको मासु), हरियो साग अमिलो, भुटन र दही समावेश गरिन्छ। भोजको अन्तिममा भिजाएको सानो केराउ, काटेको मुला, गाजर र फलफूलको केही टुक्रा सलादको रुपमा राखिन्छ।

सम्येबजी
चाडपर्व, भोजमा सम्यबजी छुट्दैन। सर्वप्रिय नेवारी परिकार हो, सम्यबजी। यो नेपाल भाषा अर्थात् नेवारी शब्द हो। जहाँ बजीको अर्थ चिउरा हो। भक्तपुरको सम्यबजीको स्वाद लिन भक्तपुरको स्थानीय खाजा पसल तथा रेष्टुराँमा सजिलै खान पाइन्छ। यसमा बजी (चिउरा) त्यसमा पनि टाइचिन बजी अर्थात् विशेष स्वादिलो चिउरा, कालो भटमास, अदुवा, लसुन, छुयाला (मासुको परिकार), अण्डा, आलु, बोडी र अचार हुन्छ। यो मौलिक नेवारी सम्यबजीमा हुने परिकारहरु हुन्। सम्यबजी सेटमा करिब १० थरि परिकार हुन्छन्। तर आजभोलि अरु थप परिकारहरुमा पनि राखेर सम्यबजी बनाइन्छ। चार्डपर्वमा सम्यबजीलाई प्रसादको रुपमा हातमा राखेर थोरै पनि खाने चलन छ। 

भादगाउँले कालोटोपी
भादगाउँले कालोटोपी भक्तपुरको मौलिक पहिचान हो र भक्तपुर सहरको पुरानो नाम हो भादगाउँ। सहरको यही पुरानो नामको पहिचान दिने गरी मल्लकालदेखि नै भक्तपुरमा भादगाउँले टोपी उत्पादन हुँदै आएको छ। नेवार समुदायमा पनि यो टोपी प्रसिद्ध छ। यसलाई पत्यक्ष रुपमा हेर्न भक्तपुरको कमलविनायक लाम्गालमा बाहिर बसेर टोपी बनाइराखेको हेर्न सकिन्छ। साथै, भक्तपुर नगरका बजारमा पनि ठाउँठाउँमा यस्ता टोपी बनाएको हेर्न सकिन्छ। यसलाई प्रवद्र्धन गर्न भक्तपुर नगरपालिकाले भक्तपुर भ्रमण आउने स्वदेशी तथा विदेशी पाहुनालाई भादगाउँले टोपी लगाएर स्वागत गर्ने गर्दछ। 

कसिमला पाँय् खेल
कसिमला पाँय् भक्तपुरको सबैभन्दा पुरानो परम्परागत खेलको रुपमा लिइन्छ। केही समय अगाडि यो लोप हुन अवस्थामा थियो। यसलाई बुढापाकाले मात्र खेल्ने गर्दथे। यसलाई ध्यानमा राखेर भक्तपुर नगरपालिकाले यस खेललाई जीवन्त राख्न स्थानीय पाठ्यक्रममा समावेश गरेको छ।
नगरपालिकाले स्थानीय पाठ्यक्रममा समावेश गराएपछि यस खेलले पुनर्जीवन पाएको छ। अहिले यो खेल बुढापाकाले मात्र नभई स्कुलमा विद्यार्थीहरूले पनि मन लगाएर खेल्ने गरेका हुन्। यस खेलले मनोरञ्जनका साथै बौद्धिक खुराक प्रदान गर्ने गर्छ।

जुजु धौ
भक्तपुरको अर्काे विशेषता हो जुजु धौ अर्थात् दहीको राजा। यहाँं अन्यत्र नपाइने जुजु धौ अर्थात् दही पाइन्छ। यहाँ जुजु धौ बनाएको प्रत्यक्ष अवलोकन गर्ने मुख्य ठाउँ हो भक्तपुरको जेँला। यहाँ अहिले पनि परम्परागत तरिकाले माटोको भाडामा भुस ओछ्याएर दही तयार गरिन्छ। भक्तपुरको सैँजु थरका समुदायले बनाउने चलन छ यस्ता दही। आजभोलि माटोको मट्का, कला तथा अन्य विभिन्न माटोको भाडामा नै दही बनाउने चलन सुरु भएको छ। नेपाल भाषामा जुजुको अर्थ राजा र धौको अर्थ दही। यस अर्थमा जुजु धौको अर्थ सबैभन्दा उत्कृष्ट दही भन्ने हो। भक्तपुरमा ६५ परिवार दही बनाउने पेशामा आबद्ध रहेको जुजु धौ एसोसिएसनको अनुमान छ। 

बुराँज्या 
भक्तपुरको मौलिक परम्परा हो बुराँ्ज्या। बुराँज्या अर्थ केलाउँदा धानको मात्रा बढोस् जति खर्च गर्दा खेतमै नसकियोस् र अन्नदाता करुणामयको करुणा रहिरहोस् भनेर खेतमै जम्मा गरिराखेको कालो धानको थुप्रो घरको मूलीले गरिने पूजाआजालाई बुराँज्या बुझिन्छ। यो धान काटिसकेपछि करिब नौ दिनमा खेतमा परालको सुताभित्र सुरक्षित राखिएको धान निकाल्नेर घर भित्र्याउने सांस्कृतिक विधि पनि बुराँज्या हो। सरल भाषामा हाकुवा अर्थात् कालो धान बनाउने मौलिक परम्पराको रुपमा लिन सकिन्छ। कालो धान बनिसकेपछिको बुराँज्या कार्यक्रम गरी नातेदार, साथीभाइ, छरछिमेकलाई बोलाएर खेतमै प्रसादको रूपमा सम्येबजी खुवाएको हुन्छ भने कसैकसैले बुराँज्या पूजामा अन्नदाता करुणामयसँग सम्बन्धित हुँदा पूजा गरी खेतमै सम्येबजी खुवाई घरमा भोज खुवाउने चलन पनि छ।

माटोको भाँडा
माटो भाँडा बनाइने भएकाले भक्तपुरलाई छुट्टै पहिचान दिएको छ। प्रजापति (थर) का स्थानीयले विभिन्न प्रकारका माटोका भाँडाकुँडाहरु बनाएको हेर्न सकिन्छ। यहाँ अहिले पनि परम्परागत प्रविधिअर्थात् हात चलाउने चाकाबाट नै माटोका भाँडाकुँडा, मूर्तिहरु देख्न सकिन्छ। कतिपयले मेसिनबाट चल्ने चाकाले पनि बनाएको पाइन्छ। साथै, पर्यटकको आकर्षणको लागि पर्यटकहरुले माटाको भाँडा बनाउन दिइन्छ। माटोका खुटुक्के, गार्गी, दियो, मूर्ति, फिल्टर, हिटर, गमला, प्लेट इत्यादि बनाइन्छ। प्रजापति थरका स्थानीयवासीको परम्परागत पेसामा पर्दछ।

अन्तमा, कला, संस्कृति र सम्पदा मानव सभ्यताको सिलसिला हो। ऐतिहासिक र सांस्कृतिक सम्पदाहरुको महत्व र यसको सदुपयोगबारे जनचेतना अभिवृद्धि गर्दै यसको संरक्षण र संवद्र्धन गरी भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थल बनाउने भक्तपुरको प्रयास जारी छ। भक्तपुर नगरपालिकाले ‘पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति’ नारालाई सार्थक पार्दै चार दशकदेखि यहाँका मूर्त र अमूर्त सम्पदाहरु संरक्षणमा जोड दिंदै आएको छ।     -रासस

प्रकाशित: Feb 13, 2025| 06:01 बिहीबार, फागुन १, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

पानी नै नपरी हिउँ नै नझरी सकियो हिउँद

पानी नै नपरी हिउँ नै नझरी सकियो हिउँद

हिउँदेयाममा समेत हिउँ नपरेपछि डाँडाकाँडा रूखा र सुक्खा देखिन थालेका छन् भने हिमालहरू कालापत्थरमा परिणत भएका छन्।
जल, जमिन र जंगलसँग यसरी टाढिँदैछन् आदिवासी

जल, जमिन र जंगलसँग यसरी टाढिँदैछन् आदिवासी

विसं २०७८ को जनगणनाअनुसार कुल जनसंख्याको ३५ दशमलव ०४ प्रतिशत रहेको आदिवासी जनजातिको अधिकार पटकपटक खोसिरहेका छन्।