काठमाडौं- भारतमा इन्जिनियरिङ अध्ययन सकेर नेपाल फर्केका संगम सिंह अनलाइन सपिङ कम्पनी खोल्न चाहन्थे। तर बजार अध्ययन गर्नेक्रममा त्योभन्दा पनि सामानको पैसा भुक्तानी लिने (क्यास अन डेलिभरी) सेवा गर्ने इच्छा जाग्यो।
त्यसपछि उनले इ-कमर्स कम्पनी खोल्ने योजना त्यागेर बजारमा अगाडी नै उपस्थिति जनाइसकेका कम्पनीहरुलाई उक्त क्यास-अन-डेलिभरी सेवा प्रदान गर्ने कम्पनी ‘नेप-एक्सप्रेस’को स्थापना गरे।
अर्का सन्तोष पाण्डे र उनका साथीले विदेशमा रहेका नेपालीले पठाएका उपहारहरू तिनका साथी र परिवारलाई पठाइदिने व्यवसाय शुरु गर्ने योजना बनाए। तर व्यवसाय शुरु गर्नु अघि अध्ययनको क्रममा उनले विश्वमा‘सरप्राइज उद्योग’को क्षेत्र महत्व समेत बुझे। त्यसपछि ‘अफरिङ् ह्याप्पिनेस’ खोल्न पुगे।
दिपेश खेतान र उनका साथीहरु मिलेर भर्खरै एउटा ‘एड्माना’ नामक डिजिटल एड्भर्टाइजिङ कम्पनी खोलेका छन् जसले डिजिटल विज्ञापनदाता र प्रकाशकलाई जोड्ने काम गर्छ। यसमा विज्ञापनदाताले उक्त विज्ञापनबाट आएको परिणाम (व्यापार)अनुसार मात्रै पैसा भुक्तानी गर्न मिल्ने सुविधा छ।
आर्सलन अख्तरले ल्यादरका सामान (ब्याग, बिन ब्याग, ल्याप टेबल लगायत) बनाउने र ती सामानहरुमा विभिन्न सन्देशहरु लेख्ने कम्पनी ‘टुडेज टेलिग्राम’ शुरु गरे। पछिल्लो समय युवाहरु आफ्नै उद्यम खोल्नप्रति आकर्षित भएको देखिन्छ।
नेप-एक्सप्रेस, अफरिङ् ह्याप्पिनेस, एड्माना र टुडेज टेलिग्राम लगायतका सयभन्दा बढी नव उद्यमहरुले पौष २१ गते शनिबार ग्यालेक्सी पब्लिक स्कुलको परिसरमा उत्पादन गरेका सामान र प्रदान गर्ने सेवाहरुको प्रदर्शनी गरेका थिए। ‘जिबिजिबिज फेस्ट’ नाम दिइएको उक्त प्रदर्शनी उत्साहजन भएको उद्यमी बताउछन्। सो प्रदर्शनीमा सयभन्दा बढी नव उद्यमीहरु आफ्नो प्रदर्शनी प्रस्तुत गरेका थिए भने पाँचहजारभन्दा बढिले अवलोकन गरे।
प्रदर्शनीमा मोबाइल गेम बनाउने कम्पनीहरु, एनिमेसन, डिजिटल मार्केटिङ, अनलाइन सपिङ, अनलाइन शिक्षा, अनलाइन स्वास्थ्य सेवा प्रदान गर्ने अधिकांश उद्यमी युवाहरु भेला भएका थिए। भेलाले यस्तो प्रदर्शनी वार्षिक रुपमा आयोजना गर्ने समेत निर्णय गरेको बताइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४