बुधबार, साउन २७, २०८३

जुम्लामा नौ हजार परिवार खानेपानीको पहुँचमा

 |  बुधबार, माघ ९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, माघ ९, २०८१

जुम्ला- जिल्लाका आठवटै स्थानीय तहका ६० वडाका करिब नौ हजारभन्दा बढी परिवारमा खानेपानीको पहुँच विस्तार भएको छ। जिल्लामा रहेका २४ हजार चारसय २२ परिवारमध्ये नौ हजार आठसय ८६ मा ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत खानेपानीको पहुँच विस्तार भएको हो।

जिल्लास्थित खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुख अक्कल महतले बाँकी परिवारले सार्वजनिक धारा, कुवा, मूलको र नदीको पानी खाइरहेका बताए। उनले भने, 'कार्यालयको तथ्यांकअनुसार १० हजार तीनसय २९ परिवारले सार्वजनिक धाराको पानी खाँदै आएका छन्। कुवाको पानी खाने ५९ परिवार छन्।'

मूलधाराको पानी खाने तीन हजार आठसय ७४, नदी-खोलाको पानी खाने दुई सय १४ र अन्यले पानीका अन्य स्रोतको प्रयोग गर्दै आएका कार्यालय प्रमुख महतले जानकारी दिए। अहिलेसम्म ४० दशमलव ४७ प्रतिशत परिवारमा ‘एक घर एक धारा’ पुगेको उनले बताए।

हरेक घरमा खानेपानीका धारा पुर्‍याउने सरकारी लक्ष्य भए पनि पुग्न नसकेको छैन भन्दै कार्यालय प्रमुख महतले जुम्लामा बृहत् खानेपानीका आयोजना निर्माण हुन थालेका उल्लेख गरे। आगामी दिनमा सबै परिवारमा खानेपानीका धारा पुग्ने गरी काम भइरहेको उनले जानकारी दिए।

कर्णाली प्रदेशमा ९६ प्रतिशत नागरिकले दूषित पानी पिउँदै आएका छन्। पर्याप्त खानेपानीको स्रोत भए पनि प्रशोधन अभाव र आवश्यकताअनुसार लगानी नहुँदा कर्णालीका ९६ प्रतिशत नागरिक खोलाको दूषित पानी पिउने गरेका कार्यालय प्रमुख महतले बताए।

'प्रदेशका ८४ प्रतिशत परिवारमा खानेपानी सुविधा पुगेको तथ्यांक छ। २०७८ को राष्ट्रिय जनगणनाअनुसार कर्णाली प्रदेशको कुल जनसङ्ख्या करिब १७ लाख छ। जसमध्ये ८४ प्रतिशत नागरिक आधारभूत खानेपानीको पहुँचमा छन्', उनले भने। 

खानेपानी पहुँच नपुगेका परिवारमध्ये ९६ प्रतिशत नागरिक प्रदूषित पानी पिउन बाध्य रहेका सरकारी तथ्यांकले देखाएको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय जुम्लाले जनाएको छ। रासस

प्रकाशित: Jan 22, 2025| 17:31 बुधबार, माघ ९, २०८१
प्रतिक्रिया दिनुहोस्