राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा निलम्बित सांसद रवि लामिछानेको बयान रुपन्देही जिल्ला अदालतमा सुरु भएको छ। न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा उनको बयान सुरु भएको हो।
यही माघ ६ गते जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा रवि लामिछानेसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरेको थियो।
नारायणबहादुर पहराई समेतको जाहेरीमा नेपाल सरकार वादी रहेको सहकारी ठगी र संगठित अपराध मुद्दामा रविना रिमालसमेत २२ जना प्रतिवादी छन्।
रवि बुधबार आफैं अदालतमा उपस्थित भएका हुन्। यसका लागि उनी हिजो बुटवल गएका थिए। यसअघि उनी सहकारी ठगी मुद्दामा नै कास्की र काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएर छुटेका थिए।