बिहीबार, जेठ २१, २०८३

शिवसताक्षीमा फर्मालिन प्रयोग भएका माछा बिक्रीमा प्रतिबन्ध

 |  बुधबार, माघ ९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, माघ ९, २०८१

झापा- शिवसताक्षी नगरपालिकाले फर्मालिन प्रयोग भएको माछा बिक्रीमा रोक लगाएको छ। माछालाई धेरै दिनसम्म ताजा देखाउन मानव स्वास्थ्यका लागि हानिकारक मानिएको फर्मालिन रसायन प्रयोग गरिएको जनगुनासो बढेपछि बिक्री वितरणमा प्रतिबन्ध लगाइएको नगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिकी संयोजक नरमाया कार्कीले जानकारी दिइन्।

National life

“स्वास्थ्यका लागि हानिकारक फर्मालिन प्रयोग गरिएको माछाको सेवनले क्यान्सर जस्तो घातक रोग लाग्न सक्ने हुँदा बिक्रीमा प्रतिबन्ध लगाइएको हो”, उनले भनिन्, “माछामा फर्मालिन प्रयोग नगर्नु र मरेका माछा बिक्री वितरण नगर्नु भनेर व्यापारीलाई जानकारी गराइसकेका छौँ।”

नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्वाहाम्फेले फर्मालिन प्रयोग भएका र मरेका माछा बिक्री वितरण हुन नदिन स्थानीय बजार व्यवस्थापन समिति र स्थानीय प्रहरीसँग मिलेर नगरपालिकाले नियमित बजार अनुगमन गरिरहेको बताइन्।

भारतबाट आयातित माछालाई सड्न नदिन फर्मालिनको घोलमा डुबाउने गरिएको गुनासो आएको जनाउँदै उनले त्यसलाई रोक्न मरेका माछा बिक्रीमा कडाइ गरिएको बताइन्। नगरपालिकाले हानिकारक रसायन फर्मालिन प्रयोग गरेको र मरेका माछा बिक्री भएको थाहा भएमा नगरपालिकामा तत्काल खबर गर्न सार्वजनिक सूचना जारी गरेको छ। 

पाँच वर्षअघि झापाको बिर्तामोड नगरपालिकाले फर्मालिन रसायनको प्रयोग भएका माछाको बिक्री वितरणमा रोक लगाइसकेको छ। झापामा माछापालन उत्साहजनक रहेको र स्थानीय उत्पादनले नै खपत धान्ने भएकाले भारतबाट आयातित मरेका माछाको बिक्रीमा रोक लगाउनु पर्ने उपभोक्ताले माग गर्दै आएका छन्। उपभोक्ता जागरण अभियान झापाका अध्यक्ष शालिकराम भट्टराईले फर्मालिन रसायनको प्रयोग मानव स्वास्थ्यका दृष्टिले अत्यन्त घातक भएकाले माछामा मात्र नभएर जुनसुकै खाद्यपदार्थमा यसको प्रयोगलाई निरुत्साहित गर्न आवश्यक रहेको बताए।

Shivam cement

उनले विर्तामोड र शिवसताक्षी नगरपालिकाले फर्मालिन प्रयोग भएको माछाको बिक्री वितरणलाई रोक लगाउन गरेको निर्णय स्वागतयोग्य रहेको जनाउँदै पूर्ण कार्यान्वयनका लागि उपभोक्ता संस्थाका प्रतिनिधि र विज्ञको टोलीको सहयोगमा नियमित अनुगमन आवश्यक रहेको बताए।

प्रकाशित: Jan 22, 2025| 10:01 बुधबार, माघ ९, २०८१
प्रतिक्रिया दिनुहोस्