आइतबार, पुस ६, २०८२

मह बिक्रीबाट लमजुङमा १८ करोड आम्दानी

 |  मंगलबार, माघ ८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ८, २०८१

लमजुङ- पहाडी जिल्ला लमजुङमा मह उत्पादन बढेको छ। गत वर्षको तुलनामा यस वर्ष २९ दशमलव ६ टनले मह वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। कार्यालयका सूचना अधिकारी सरोज थापाका अनुसार यस वर्ष १७ हजार एकसय ९७ वटा मौरीका घारबाट एकसय २९ दशमलव १७ टन मह उत्पादन भएको छ।

National life

जिल्लामा किसानले यसवर्ष एक हजार पाँचसय रूपैयाँका दरले बिक्री गरेको बताएका छन्। जिल्लामा किसानले यस वर्ष मह बिक्रीबाट १८ करोड रूपैयाँ आम्दानी गरेको उनको भनाइ छ। यस्तै, गत वर्ष १३ हजार आठ सय ५० मौरीका घारबाट एकसय ११ दशमलव तीन टन मह उत्पादन भएको थियो। गत वर्ष प्रतिकिलो मह नौ सयदेखि एक हजारसम्ममा बिक्री भएको थियोभने मह बिक्रीबाट नौ करोड रूपैयाँभन्दा बढी आम्दानी गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ।

विसं २०७९ मा १० हजार २५ मौरीका घारबाट ३२ टनमात्र मह उत्पादन भएको थियो। विसं २०७८ मा ११ हजार पाँच सय मौरीका घारबाट ३० टन मह उत्पादन भएको थियो। यस्तै २०७७ सालमा ११ हजार सयवटा मौरीका घारबाट ३८ टन मह उत्पादन भएको थियो। केन्द्रका अनुसार २०७६ सालमा नौ हजार पाँचसय मौरी घारबाट ३४ टन तथा २०७५ सालमा पाँच हजार नौसय मौरीका घारबाट ३२ टन मह उत्पादन भएको थियो।

जिल्लामा यस वर्ष सबैभन्दा बढी सुन्दरबजार नगरपालिकामा मह उत्पादन भएको छ। यहाँ चार हजार पाँचसय घारबाट ३६ हजार केजी उत्पादन गरेको र यसबाट पाँच करोड ४० लाख रूपैयाँ आम्दानी भएको सूचना अधिकारी थापाले बताए। जिल्लामा उत्पादित मह काठमाडौं, पोखरा, चितवनलगायत बजारमा खपत हुँदै आएको छ।

जिल्लाका किसानले आधुनिक मौरी घार र प्रविधिको प्रयोगबाट मह उत्पादन गर्न थालेका छन्। नेपाल मौरीपालक महासंघ जिल्ला शाखाका अनुसार लमजुङको सबैभन्दा बढी उत्पादन हुने सुन्दरबजार नगरपालिका, बेँसीसहर नगरपालिका र मर्स्याङ्दी गाउँपालिका छन्। शाखामा जिल्लाका तीन सय ८२ जनाभन्दा बढी मौरीपालक किसान आबद्ध छन्।

Laxmi sunrise bank
kumari

पछिल्लो समयमा जिल्लामा मह उत्पादन बढ्दै गएको कृषि ज्ञान केन्द्रका प्रमुख सुदीप खतिवडाले बताए। उत्पादन बढ्नुका कारण पहिला सौखले मौरीपालन गरिन्थयो भने अहिले बुझेर मौरीपालन गर्न थालेका छन्। पहिला मौरीपालनसम्बन्धी नबुझी गरेको र अहिले विभिन्न निकायले यससम्बन्धी तालिम प्रदान गरेकाले, मौरी चरन क्षेत्र राम्रो तथा पर्याप्त, हावापानी राम्रो, आधुनिक घारको प्रयोगलगायत कारणले मह उत्पादन बढ्दै गएको उनको भनाइ छ।

जिल्लामा शेरना प्रजाति मौरीको मह उत्पादन गर्ने गरेको र यसले प्रतिघार पाँचदेखि १० केजीसम्म मह उत्पादन गर्ने कृषि ज्ञान केन्द्र प्रमुख खतिवडाले बताए। कार्यालयले यस वर्ष एकसय २५ वटा मौरीका घार किसानलाई अनुदानमा वितरण गरेको थियो। कार्यालयबाट मौरीपालनलगायत कृषि क्षेत्रका किसानका लागि विभिन्न शीर्षकमा बर्सेनि साढे तीन करोड रूपैयाँ खर्च गर्दै आएको केन्द्रले जनाएको छ। रासस

प्रकाशित: Jan 21, 2025| 21:01 मंगलबार, माघ ८, २०८१
प्रतिक्रिया दिनुहोस्