आइतबार, पुस ६, २०८२

दुई अर्ब ९५ करोड बराबरको चिया निर्यात

 |  मंगलबार, माघ ८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ८, २०८१

झापा- मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा चिया निर्यात ५५ दशमलव ७० प्रतिशतले बढेको छ।

National life

कार्यालयको तथ्याङ्कानुसार (साउन-पुस)सम्ममा रु दुई अर्ब ९५ करोड ९० लाख ३७ हजार बराबरको चिया निर्यात भएको छ।

सोही अवधिमा ११ हजार दुई सय ३२ दशमलव २७ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिनुभयो। गत आव २०८०/८१ को सोही अवधिमा रु एक अर्ब ९० करोड पाँच लाख छ हजार बराबरको चिया निर्यात भएको थियो।

भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपाली चियाको निर्यात सुखद् पक्ष रहेको चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीले बताए। चिया निर्यातमा नेपाल सरकारले सहजीकरण गरिदिने हो भने भारतमा माग बढेकाले चियाको निर्यात अझै बढ्ने अध्यक्ष पराजुलीको दाबी छ।

कार्यालयको तथ्याङ्कानुसार चालु आव २०८१/८२ को पुस मसान्तसम्म अलैँचीको निर्यात १६ दशमलव सात प्रतिशतले बढेको छ।

Laxmi sunrise bank
kumari

चालु आवको छ महिनामा रु चार अर्ब ५५ करोड ७० लाख ६९ हजार बराबरको अलैँची निर्यात भएको छ। गत आव २०८०/८१ को सोही अवधिमा रु तीन अर्ब ९० करोड ५८ लाख ०६ हजार बराबरको अलैँची निर्यात भएको थियो।

कार्यालयको तथ्याङ्कानुसार प्लाइउड २७ दशमलव ९०, सिमेन्ट क्लिङ्कर चार हजार एक सय ४१, भेनियर सिटको निर्यात दुई सय ३६ प्रतिशतले वृद्धि भएको छ। यसैगरी फलामे पाता, छुर्पी, अदुवा, काउली, बन्दागोपी, ब्रोकाउली, फलामलगायत वस्तुको निर्यातमा कमी आएको छ।

पूर्वी नाकामा रहेको मेची भन्सारबाट चालु आवको छ महिनामा रु १३ अर्ब ८४ करोड चार लाख ३९ हजारको मालवस्तु निर्यात भएको छ।

प्रकाशित: Jan 21, 2025| 09:01 मंगलबार, माघ ८, २०८१
प्रतिक्रिया दिनुहोस्