बुधबार, साउन २७, २०८३

सैफ अली खानलाई घरमै घुसेर छुरा प्रहार

 |  बिहीबार, माघ ३, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ३, २०८१

बलिउड कलाकार सैफ अली खानमाथि उनकै घरमा छिरेर एक व्यक्तिले छुरा प्रहार गरेका छन्। बुधबार राति साढे २ बजेतिर मुम्बईको बान्द्रास्थित खानको घर पटौदी प्यालेसमा प्रवेश गरेका एक सन्दिग्धले खानमाथि छुरा प्रहार गरी भागेका थिए।

बीबीसी हिन्दीका अनुसार सैफलाई चोटग्रस्त अवस्थामा बिहान साढे ३ बजे लिलावती अस्पताल पुर्‍याइएको थियो। अस्पतालका सिओओ डा.निरज उत्तमानीले सैफको जिउमा ६ वटा चोट रहेको बताएका छन्। तीमध्ये दुइटा चोट गहिरो रहेको डा. निरजले हिन्दुस्तान टाइम्ससँग भनेका छन्।

एउटा चोट घाँटी नजिक र अर्को चोट मेरूदण्ड नजिक रहेको उनले बताएका छन्। सैफको उपचारमा तीन जना चिकित्सक खटिएका छन्।

मेरूदण्ड नजिकको चोट निकै गहिरो भएको र त्यहाँ १० वटा टाँका लगाइएको अर्का डाक्टरले भनेका छन्। यद्यपि सैफको मेरूदण्डमै असर भने नगरेको उनले बताएका छन्।

घटना भएको समयमा सैफकी श्रीमती करिना कपुर घरमा थिइनन्। सैफ सहयोगी र दुई छोराहरूसँग घरमै थिए। करिना आफ्नी दिदी करिश्मासँग एक पार्टीमा रहेको भनिएको छ।

संदिग्ध व्यक्ति  घरमा प्रवेश गरेपछि सैफका सहयोगीले रोक्ने प्रयत्न गरेका थिए। त्यसपछि सैफ आफैं ती संदिग्धलाई रोक्न जाँदा छुरा प्रहार गरेर भागेको बताइएको छ। त्यस क्रममा सैफ र ती सन्दिग्धबीच केहीबेर घम्साघम्सी भएको थियो।

घटनाको क्राइम ब्रान्च मुम्बईले अनुसन्धान गरिरहेको छ।

 

प्रकाशित: Jan 16, 2025| 13:50 बिहीबार, माघ ३, २०८१
प्रतिक्रिया दिनुहोस्