आइतबार, असोज १८, २०८३

स्याउ किसानलाई सीप सिकाउँदै प्राविधिक

 |  बुधबार, माघ २, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, माघ २, २०८१

जुम्ला- कृषि प्राविधिकहरु यतिबेला तातोपानी गाउँपालिकाका स्याउका बिरुवा काँटछाँट तथा बगैँचा व्यवस्थापनमा जुटेका छन्। स्याउ उत्पादन बढाउन, बोटमा लाग्ने रोगको नियन्त्रण, मलजलको व्यवस्थापनलगायतका किसानलाई ज्ञान दिनका लागि प्राविधिकहरु स्याउ बगैँचामै पुगेका हुन्।

प्राविधिकहरु बगैँचामै पुगेर किसानलाई सिकाउन थालेपछि किसान पनि खुसी भएको तातोपानी गाउँपालिका कृषि शाखा प्रमुख दीपा पौडेलले बताए।

अधिकांश किसानले परम्परागत शैलीबाटै बिरुवा रोप्ने र स्याहर गर्दै आएकामा प्राविधिकले भने थप जानकारी दिने छन्। प्रमुख पौडेलले भने, ‘यहाँका किसानको स्याउ प्रमुख आम्दानीको स्रोत हो, स्याउखेतीको विस्तार तथा आवश्यक सीप र प्रविधिको सहयोग गर्नेका लागि पालिका सक्रियताका साथ लागेको छ।’

प्राविधिकहरु बगैँचामै आएर सबै जानकारी दिन थालेपछि आफूहरुले पनि धेरै जानकारी प्राप्त गरेको तातोपानी–७ का किसान हस्त रावतले बताए। ‘परम्परागत खेतीबाट स्याउ मात्र होइन सबै बानीनालीको उत्पादन अपेक्षा गरेअनुसार भएको छैन, प्राविधिक आएर सिकाउँदा सबैलाई फाइदा हुन्छ’, उनले भने।

किसानको परिश्रम खेर नजाओस भनेर स्याउखेतीको थप प्राविधिक कुरा सिकाउन कृषि शाखाबाट कर्मचारी बगैँचामै पठाउने गरेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए।

उनका अनुसार गाउँपालिका आठवटै वटामा कृषि प्राविधिक खटाइएको छ। जिल्लामा अहिले चार हजार दुई सय ५० हेक्टर क्षेत्रफलमा स्याउखेती हुने गरेको कृषि विकास कार्यालयले जनाएको छ।

प्रकाशित: Jan 15, 2025| 09:31 बुधबार, माघ २, २०८१
प्रतिक्रिया दिनुहोस्