शनिबार, पुस ५, २०८२

जलपक्षीको प्रजाति र संख्यामा कमी

 |  मंगलबार, पुस २३, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २३, २०८१

नवलपुर- यसवर्ष चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी र राप्ती नदी आसपासका सिमसार क्षेत्रमा जलपक्षीको प्रजाति र सङ्ख्यामा कमी आएको छ। 

National life

सोमबारदेखि सुरु भएको जलपक्षी गणना अन्तर्गत चरा गणनामा संलग्न निकुञ्जका मध्यक्षेत्र संयोजक एवं चराविज्ञ मनेष लिम्बूले विगतमाझैँ चराको प्रजाति र सङ्ख्या नभेटिएको बताए। 'अघिल्लो वर्ष जलपक्षी गणनामा ४७ प्रजातिका चरा भेटिएका थिए', उनले भने, 'यस वर्ष २८ प्रजातिको मात्र चरा भेटिए।'

साना चराको सङ्ख्यासमेत थोरै भेटिएको उनको भनाइ छ। विगतमा गणना गरिएको जुरे हुटिट्याउँ, चित्र दङ्गालगायत जलपक्षी यसपटक नभेटिएको उनले जानकारी दिए। 'चखेवा र खोया हाँसको सङ्ख्या भने विगतमाझैँ भेटिएको छ', उनले भने। नदीमा बढेको प्रदूषणका कारण यस क्षेत्रमा जलपक्षी न्यून आएको हुनसक्ने उनले बताए।

गणनाको केही दिन अगाडि निकुञ्ज क्षेत्रमा पहिलोपटक ‘कालो टाउके लेक चरी’ भेटिएको थियो। 'यसअघि यो चरा हामीले निकुञ्ज क्षेत्रमा कहिल्यै भेटेका थिएनौँ', लिम्बूले भने, 'दुई हप्ता अगाडि भेटिएको यो चरा चितवनका लागि नयाँ प्रजाति हो।' हाल उत्तरी ध्रुव, रुस, चीन, मङ्गोलियालगायत अत्यधिक चिसो क्षेत्रबाट जाडो छल्न र खानेकुराको खोजीमा विभिन्न ताल, तलैया, नदी र जङ्गलमा चरा आउने उनले बताए।

निकुञ्जको पश्चिमी क्षेत्र र नवलपुरका तालतलैयामा भने पुस २७ गतेमात्र जलपक्षी गणना गर्ने तयारी गरिएको संयोजक डिबी चौधरीले बताए। विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा देशभरका ताल, तलैया, नदी र सिमसारमा पाइने जलपक्षीको सङ्ख्या, प्रजाति र बासस्थानको अवस्थाबारे जानकारी लिन यस वर्षको गणना यही पुस २० गतेबाट माघ ६ गतेसम्म सञ्चालन हुने चौधरीले बताए।

Laxmi sunrise bank
kumari

'चरा गणना स्वयंसेवी रूपमा गरिने भएकाले सबैलाई पायक पर्ने समय मिलाएर आगामी शनिबार र आइतबार गणना गर्ने तयारी गरेका छौँ', उनले भने, 'जलपक्षी गणनामा सहभागी हुने गणक होटल व्यवसायी, नेचरगाइड हुने भएकाले अन्य ठाउँमा भन्दा केही दिन पछाडि गणना गर्न लागिएको हो।'

यस क्षेत्रमा पाँच समूह बनाएर दुई दिनसम्म चरा गणना गर्ने योजना बनाइएको छ। जलपक्षी गणनाका क्रममा पानीमा आश्रित तथा पानी वरिपर बस्ने परम्परागत र बसाइँसराइ गर्ने चराहरूको तथ्यांक संकलन गरिने जनाइएको छ। चराको प्रारम्भिक तथ्यांक गणना सकिएलगत्तै गरिने भए पनि विस्तृत प्रतिवेदन आगामी वैशाख १ देखि ७ गतेसम्म मनाइने वन्यजन्तु सप्ताहका अवसरमा सार्वजनिक गरिने संयोजक चौधरीले बताए। रासस

प्रकाशित: Jan 07, 2025| 19:31 मंगलबार, पुस २३, २०८१
प्रतिक्रिया दिनुहोस्