नेपाल-तिब्बत सीमा नजिकै आज बिहान गएको ६.८ म्याग्निच्युडको भूकम्पले तिब्बतमा मानवीय क्षति भएको छ।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार हालसम्म ५३ जनाको मृत्यु भएको पुष्टि भएको छ।
भूकम्पमा परी ६२ जना घाइते भएका छन् भने सयौं घर भत्किएका छन्।
भूकम्पको केन्द्र नेपाल नजिकै सिगात्से हो। भूकम्पको धक्का पूर्वी नेपाल, मधेश र काठमाडौं उपत्यकामा समेत केहीबेर महसुस गरिएको थियो।
पूर्वमा अहिलेसम्म क्षतिको विवरण प्राप्त भएको छैन तर सिन्धुपाल्चोकमा केही क्षति भएको समाचार छ। यसैगरी सोलुखुम्बुमा दुई घर भत्किएका छन्।
।
सिन्धुपाल्चोकमा फुल्पिङकट्टीमा एउटा प्रहरी भवनमा क्षति पुगेको छ। अन्य स्थानमा केही निजी घर भत्किएका बताइएको छ।
भूकम्पको क्षति विवरण बुझ्न सशस्त्र प्रहरीका २५ सय जवान परिचालन गरिएको छ। सशस्त्र प्रहरी बलका प्रवक्ता शैलेन्द्र थापाका अनुसार कोशी, मधेश र बागमती प्रदेशमा सो संख्यामा दस्ता परिचालन गरिएको हो।
सशस्त्रका अनुसार रामेछाप, सिन्धुपाल्चोक, ओखलढुंगा, सोलुखुम्बुमा केही घरमा सामान्य क्षति पुगेको छ।
भूकम्पका कारण सोलसखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकामा दुईवटा घरमा क्षति पुगेको छ। थुलुङ दूधकोशी–७ देउसा लुरुवाका ५० वर्षीय हर्कबहादुर खत्रीको ढुंगामाटोको गारो र ढुंगाकै छानो भएको दुईतले घरमा क्षति पुगेको प्रहरीले जनाएको छ।
यसैगरी खुम्बु पासाङल्हामु गाउँपालिका–५ हेलाजुङ बस्ने आङङिमा शेर्पाको ढुंगा, माटो र टिनको छानाको दुईतले घरमा क्षति पुगेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए। उनका अनुसार घटनास्थलतर्फ प्रहरी टोली खटाइएको छ।
क्षतिबारे यकिन विवरण आउन बाँकी छ। भूकम्पका कारण जिल्लामा भएको क्षतिबारे विस्तृत विवरण प्राप्त भइसकेको छैन। सम्भावित उद्धार तथा राहतका लागि प्रहरीसहित सबै संयन्त्र तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताए।