बिहीबार, जेठ २१, २०८३

कमला पुल निर्माण पुनः सुरु

 |  सोमबार, पुस २२, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, पुस २२, २०८१

सिरहा- हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला पुल निर्माण पुनः सुरु भएको छ। गत असार पहिलो सातादेखि रोकिएको पुल निर्माण गत हप्तादेखि सुरु गरिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका योजना प्रमुख कृष्णकुमार महतोले जानकारी दिए।

National life

असोजबाटै सुरु हुनुपर्ने काम निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स’ र बिमा कम्पनीबीचको विवादले ढिलाइ भएको थियो। ‘एक वर्ष अघि देखि पुल निर्माण कम्पनी र बिमा कम्पनीबीचको विवाद उच्च अदालत पाटनमा विचाराधीन छ। यसबीचमा निर्माण कम्पनीले काम रोकेको थियो’, योजना प्रमुख महतोले भने, ‘अदालतको निर्णय आउँदासम्म कुर्नुभन्दा पुल निर्माण सुरु गर्न दबाब परेपछि गत हप्तादेखि सुरु गरेको हो।’

वि.सं. २०६८ जेठ ३१ मा तीन वर्ष वर्षभित्र पुल निर्माण सम्मन्न गर्ने गरी निर्माण कम्पनी ‘पप्पु कन्स्ट्रक्सन’ लाई दिइएको थियो। तर निर्माण नगरेपछि पप्पुलाई कालोसूचीमा राखी बाँकी काम ‘लुम्बिनी बिल्डर्स’ लाई दिइएको थियो।

यसबीचमा हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय र निर्माण कम्पनीबीच वि.सं. २०८१ असार मसान्तसम्म भासिएको पुलको पुनःनिर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो। पुल निर्माण अन्तिम चरणमा भएका बेला बाढीले क्षति पु-याएपछि कम्पनीले क्षतिवापत बिमाबाट पाउनुपर्ने रु १२ करोड रकम नपाएपछि अदालत गएको निर्माण कम्पनीका ‘साइट इन्चार्ज’ सुदीप थापाले बताए। उनले भने, ‘बिमा कम्पनीले बेइमानी नगरेको भए सम्भवत पुल निर्माण भइसक्थ्यो।’

मधेसको ‘लाइफ लाइन’ मानिने कमला पुल निर्माण १३ वर्षदेखि अधुरो छ। हुलाकी राजमार्ग निर्देशनालय प्रमुख महतोको अनुसार निर्माण कम्पनीले अन्तिम पटक थपिएको म्यादअनुसार आगामी असारसम्म पुल निर्माण सम्पन्न गर्नुपर्नेछ। ‘निर्धारित समयमा पुल निर्माण हुन प्राविधिक समस्या हल भएका छन्। कानुनी समस्या बाँकी रहेकाले समयमा पुल निर्माण हुनेमा अझै शङ्का छ’, प्रमुख महतोले भने।

Shivam cement

वर्षौदेखि हुलाकी राजमार्ग प्रयोग गर्ने यात्रु तथा यहाँका स्थानीय वर्षातमा रु एक सय तिरेर डुङ्गाको सहारामा जोखिमपूर्ण यात्रा गर्ने गरेका छन्। हिउँदमा स्थानीय युवाको पहलमा अस्थायी बाँस र काठले बनाएको पुलमा रु २० तिरी वारपार गर्दै आइरहेका छन्। लामो समयदेखि रोकिएको पुल निर्माण सुरु भएपछि स्थानीय बासिन्दालाई पक्की पुलबाट यात्रा गर्ने आशा फेरी जागेको छ। रासस

प्रकाशित: Jan 06, 2025| 09:31 सोमबार, पुस २२, २०८१
प्रतिक्रिया दिनुहोस्