बुधबार, असार ३२, २०८२

सगरमाथा क्षेत्रमा हेलिकप्टर उडान स्थगन

 |  आइतबार, पुस २१, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस २१, २०८१

vianetvianet

हेलिकप्टर कम्पनीहरूले तत्कालका लागि सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा उडान स्थगन गरेका छन्। वायुसेवा सञ्चालक संघले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै उडान स्थगन गरिएको बताएको छ।

राष्ट्रिय निकुञ्ज र पासाङल्हामु गाउँपालिकाका स्थानीयहरूले अवरोध गरेकाले उडान रोकिएको हो। हेलिकप्टर सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म उक्त क्षेत्रका सम्पूर्ण उडान आजबाटै स्थगन गरिएको संघले जनाएको छ।

यसबाट यात्रुमा पर्ने असुविधा प्रति संघले क्षमा पनि मागेको छ। यसअघि राष्ट्रिय निकुञ्ज तथा गाउँपालिकाले पनि पुस १७ गते अर्थात् जनवरी १ बाट लागु हुने गरी उक्त क्षेत्र आसपासमा हेलिकप्टर उडान र अवतरणमा रोक लगाएको थियो।

यद्यपि नियामक निकाय उड्डयन प्राधिकरणले सगरमाथा क्षेत्रमा हवाई उडानमा प्रतिबन्ध लगाउने निर्णय खारेज गरेको थियो।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग अन्तर्गतको सगरमाथा राष्ट्रिय निकुन्ज कार्यालयले पुस १७ गतेदेखि निकुञ्ज क्षेत्रमा उडान प्रतिबन्ध लगाउने गरी वायुसेवा सञ्चालक संघ र प्राधिकरणमा पत्राचार गरेसँगै प्राधिकरणले ऐन विपरीतको निर्णय कार्यान्वयन गर्न बाध्य नहुने जवाफ फर्काएको थियो।

त्यसयता तत्कालका लागि स्थानीयले उडान गर्न दिए पनि शनिबार(हिजो) देखि भने अवरोध सिर्जना गरिरहेका छन्। 'अहिले त्यहाँका हेलिप्याडहरूमा झण्डा गाडेर अवरोध सिर्जना गरिएको छ यो अवस्थामा आपतकालीन अवतरण गर्नुपर्दा समेत ठाउँ छैन,' विज्ञप्तिमा भनिएको छ, 'स्थानीय तथा युवाले सदस्य वायुसेवा कम्पनीहरूका जहाज अवतरण गरेको खण्डमा चालक दलका सदस्यलाई समेत कारबाही गर्ने अभिव्यक्ति दिइरहेका छन्।' यो अवस्थामा सुरक्षाका लागि भन्दै तत्कालका लागि संघले उडान रोक लगाएको हो।

प्रकाशित: Jan 05, 2025| 17:10 आइतबार, पुस २१, २०८१
प्रतिक्रिया दिनुहोस्