बिहीबार, जेठ २१, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • धुलिखेलका क्षतिग्रस्त खानेपानी आयोजना पुनर्निर्माण गर्न एक लाख युरो सहयोग

धुलिखेलका क्षतिग्रस्त खानेपानी आयोजना पुनर्निर्माण गर्न एक लाख युरो सहयोग

 |  शुक्रबार, पुस १९, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १९, २०८१

काभ्रेपलाञ्चोक- गत असोज दोस्रो साताको बाढीपहिराले क्षतिग्रस्त काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकामा सञ्चालित खानेपानी आयोजनालाई जर्मन सरकारले एक लाख युरो सहयोग गर्ने भएको छ।

National life

यसका लागि धुलिखेल नगरले गत कात्तिक पहिलो साता नेपालका लागि जर्मनी राजदूत डा थोमस प्रिन्जसँग भेट गरी क्षतिग्रस्त आयोजनाको पुनः निर्माणका लागि प्रस्ताव गरेको थियो।

प्रस्तावित विषयमा जर्मन सहयोग नियोग (जीआइजेड)मार्फत नेपालस्थित दूतावासले एक करोड ४२ लाख २५ हजार रकम सहयोग गर्न नगर प्रमुख अशोक ब्याञ्जू र जिआइजेडका तर्फबाट तीर्थ सिन्हाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार केही दिनमै धुलिखेल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई सहयोग रकम प्रदान गरिने नगरप्रमुख ब्याञ्जूले जानकारी दिए।  

उनका अनुसार उक्त रकमबाट आयोजनाको इन्टेक, पाइप तथा अन्य भौतिक संरचनाको पुनःनिर्माण गरिनेछ। बाढीपहिराले आयोजना क्षतिग्रस्त बनाउँदा नगरको वडा नं ३, ४, ५, ६ र ८ का उपभोक्ता तथा सदरमुकामस्थित सरकारी कार्यालयमा हालसम्म खानेपानी आपूर्तिमा समस्या रहेको छ। 

Shivam cement

यसबीचमा क्षतिग्रस्त धुलिखेल खानेपानी आयोजनाको आंशिक पुनः निर्माणपछि नगरमा पानी वितरण भएको छ। गत दुई हप्तामा अस्थायी रूपमा क्षतिग्रस्त मुख्य स्थानमा पाइप जडान गरिएपछि धुलिखेलका उपभोक्ताको घरमा पानी वितरण थालिएको समितिले जनाएको हो। बाढीपहिरोले तीन दशकअघि देखि सञ्चालनमा रहेको उक्त आयोजनामा ठूलो क्षति पुगेको थियो। 

विशेषगरी आयोजनाको मुहान क्षेत्र पनौती नगरपालिका-१२ स्थित पालपाले गाउँका विभिन्न स्थानमा करिब दुई किलोमिटर मुख्य पाइपमा क्षति पुगेको थियो । सोही वडाको सप्तकन्याबाट ल्याइएको खानेपानी तीन हजार दुई सय घरमा पुर्‍याइएको थियो।

समितिका अध्यक्ष कृष्णभूषण श्रेष्ठले तत्काल अस्थायी रूपमा आयोजना मर्मत गर्न हालसम्म १९ लाख ७९ हजार खर्च गरिएको बताए। आयोजनाको स्थायी पुनः निर्माणका लागि करिब तीन करोड ५१ लाख लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। रासस

प्रकाशित: Jan 03, 2025| 18:01 शुक्रबार, पुस १९, २०८१
प्रतिक्रिया दिनुहोस्