बिहीबार, जेठ २१, २०८३

ताँजकोटका आठ बस्ती पहिरोको उच्च जोखिममा

 |  बुधबार, पुस १७, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, पुस १७, २०८१

हुम्ला- हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकाको वडा नम्बर १ देखि ५ सम्मका आठ वटा बस्ती पहिरोको उच्च जोखिममा रहेको बताइएको छ।

National life

जिल्ला प्रशासन कार्यालय हुम्लामा मंगलबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले ताँजकोट क्षेत्रका विभिन्न आठ वटा बस्ती भिरालो जमिन रहेकाले उच्च जोखिममा रहेको निष्कर्ष निकालेको हो।

ताँजकोट गाउँपालिकाको वडा नम्बर १ को कोलपेल्ना, वडा नम्बर २ को दलितबाडा, वडा नम्बर ३ को भ्यालबाडा र रोकायाबाडा, वडा नम्बर ४ को ओखडेना, वडा नम्बर ५ को लोटपाटा र दलित बाडा बस्ती उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए।

भिरालो जमिन पहिरोको उच्च जोखिम रहेको भन्दै उनले ताँजकोट गाउँ कार्यपालिकाले पुस ३ गते स्थानान्तरण लागि जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेको जानकारी दिए।

जोखिममा रहेका बस्ती सुरक्षित स्थानमा स्थानान्तरण गर्नका लागि सुरक्षित स्थान पहिचान गरी बस्ती विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्न आवश्यक देखिएको छ।

Shivam cement

उक्त बैठकले जिल्लामा विभिन्न समयमा हुनसक्ने विपद्का घटना र त्यसको पूर्व तयारीका विषयमा छलफल भएको सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले जानकारी दिए। उनका अनुसार बैठकमा जिल्ला विपद् व्यवस्थापन समितिको यसअघिका बैठकबाट भएका निर्णयको कार्यान्वयन अवस्थाका बारेमा समीक्षा एवं विश्लेषण गरिएको थियो।

त्यसैगरी बैठकले विपद्बाट पूर्ण क्षति भएका घरलगायतका भौतिक संरचना गुमाउन पुगेका २५ प्रभावित परिवारलाई राहत स्वरूप जिल्ला विपद् व्यवस्थापन कोषबाट तीन लाख ३० हजार उपलब्ध गराउने निर्णय गरेको छ। प्रत्येक पीडित परिवारलाई १५ हजारका दरले राहत उपलब्ध गराइनेछ।

यस्तै, मङ्सिर २६ सर्केगाड गाउँपालिका वडा नम्बर ७ रोडिकोट र सिमकोट गाउँपालिका वडा नम्बर ८ यांगु गाउँका आगलागी पीडितको घर पुनर्निर्माणका लागि आवश्यक सहजीकरण गर्न राष्ट्रिय विपद् तथा जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण तथा प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा जिल्लाबाट सिफारिस पठाउने निर्णय गरिएको छ।

प्रकाशित: Jan 01, 2025| 10:01 बुधबार, पुस १७, २०८१
प्रतिक्रिया दिनुहोस्