शुक्रबार, पुस ४, २०८२

रोशीका १२ सय विपद् प्रभावितलाई आर्थिक सहयोग

 |  मंगलबार, पुस १६, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १६, २०८१

काभ्रेपलाञ्चोक- असोजको दोस्रो साताको बाढीपहिरोबाट प्रभावित एक हजार २३० पीडित परिवारलाई संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले राहत रकम प्रदान गरेको छ। डब्लूएफपीको नेपालस्थित कार्यालयमार्फत राहत रकम प्रभावित परिवारले प्राप्त गरेको रोशी गाउँपालिकाले जनाएको छ।

National life

बाढीपहिरोमा परी गाउँपालिकामा १२ जनाको ज्यान गएको थियो। यस्तै ४८२ घर पूर्णरूपमा तथा ८८३ घर आंशिक रूपमा क्षति पुगेको थियो। डब्लूएफपीले पीडितपरिवार सङ्ख्याका आधारमा राहतस्वरुप नगद नै सम्बन्धित लाभग्राहीको बैंक खातामा पठाएको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिए। उनले सबै पीडितको बैंक खातामा रकम जम्मा भइसकेको र कुनै समस्या आए गाउँपालिकामा तत्काल सम्पर्क गर्न अपिल गरेका छन्।

डब्लूएफपीले नेपाल सरकारको बाढीपहिरोपीडितलाई परिवार सङ्ख्याका आधारमा दिने नीतिअनुसार १५ हजार तथा २० हजार नगद राहत प्रदान गरेको जनाइएको छ। अध्यक्ष लामाका अनुसार यसअघि गाउँपालिकामा सीआरएस (क्याथोलिक राहत सेवा) मार्फत १०८ पीडितपरिवारलाई राहत रकम प्रदान भएको थियो। बाढीपहिरोले उक्त गाउँपालिकाको दुई हजार ५४४ परिवारको खेतबारीमा क्षति पुगेको थियो भने १६० खानेपानी आयोजना, एक पक्की पुल, ४७ विद्यालय, चार स्वास्थ्य केन्द्रमा क्षति पुगेको थियो। यस्तै बाढीपहिराले निर्माण सम्पन्न भएको डम्फु पार्क, १० शय्याको अस्पताल, चिस्यान केन्द्रसहितको औद्योगिक ग्राम बगाएको थियो।

यसैबीच गाउँपालिकाले घर पूर्णरूपमा क्षति भएका परिवारका लागि अस्थायी आवास निर्माण थालेको छ। चिसो बढ्दै गएपछि बाढीपहिरोपीडित अझ प्रभावित हुने भएपछि पहिलो चरणमा घर पूर्णरूपमा क्षति भएका परिवारका लागि अस्थायी आवास निर्माण थालिएको गाउँपालिकाले जनाएको हो। लामाका अनुसार विभिन्न दाता संस्थाको सहयोगमा वडा नं २ बाट अस्थायी आवास निर्माणको काम सुरु गरिएको तथा वडा नं ९ को नार्के आसपासको क्षेत्रमा हालसम्म ५० वटा निर्माण भइसकेको छ।

गाउँपालिकाले विपद् व्यवस्थापनका लागि गत कात्तिक ३० गते नै विशेष गाउँसभामार्फत चालु आर्थिक वर्षमा योजनाका लागि विनियोजित बजेटबाट केही प्रतिशत कटौती गर्ने निर्णय गरेको थियो। गाउँपालिकाले विपद्सँग सम्बन्धित बनाएर २६६ योजना संशोधन गरेको छभने विपद् कोष दुई करोड ८० लाखको बनाएको जनाएको छ। कोषको रकमले स्थानीय तहमा अत्यावश्यक विपद् खर्च, बाढीपहिरोले पुर्‍याएको क्षतिको तथ्याङ्क सङ्कलन, राहत वितरणलगायत विविध शीर्षकमा खर्च गर्नेगरी संशोधन गरिएको गाउँपालिकाले जनाएको छ। रासस

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 31, 2024| 10:01 मंगलबार, पुस १६, २०८१
प्रतिक्रिया दिनुहोस्