मंगलबार, असार ३१, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बीपी उद्यानका तरकारी र फलफूल बजार खाली गराउन वीरगञ्ज महानगरको अल्टिमेटम

बीपी उद्यानका तरकारी र फलफूल बजार खाली गराउन वीरगञ्ज महानगरको अल्टिमेटम

 |  सोमबार, पुस १५, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, पुस १५, २०८१

vianetvianet

पर्सा- वीरगञ्ज महानगरले घण्टाघर चोकसँगै रहेको बीपी उद्यान अतिक्रमण गरेर तरकारी तथा फलफूल व्यापार गर्दै आएका व्यापारीलाई सात दिनभित्र खाली गर्न दोस्रोपटक ‘अल्टिमेटम’ दिएको छ।

वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले गत शुक्रबार दोस्रोपटक सार्वजनिक सूचना जारी गरेर सात दिनभित्र घण्टाघरस्थित बीपी उद्यान हाताभित्र सञ्चालनमा रहेका तरकारी तथा फलफूल बजार खाली गर्नका लागि आह्वान गरेका हुन्।

महानगरले यसअघि मङ्सिर २६ गते १५ दिने सार्वजनिक सूचना जारी गरेर बीपी उद्यानमा राखिएका तरकारी तथा फलफूल बजार हटाउनका लागि निर्देशन दिएको थियो। सो म्याद पनि गत पुस १० गते सकिएको थियो। तर सो अवधिमा तरकारी तथा फलफूल व्यापारीले बीपी उद्यानको ठाउँ खाली गर्न अटेरी गर्दै आइरहेका छन्।

वीरगञ्जको मुख्य स्थानमा रहेको अस्तव्यस्त बजारले यहाँको सौन्दर्यीकरणमा समेत समस्या पार्दै आइरहेको छ। प्रमुख प्रशासकीय अधिकृत कर्णले महानगरले बीपी उद्यानमा तरकारी तथा फलफूल बिक्री वितरण गर्दै आइरहेका व्यापारीलाई महानगर-१६ मा रहेको नगवास्थित कृषि बजारमा व्यवस्थापन गर्न लागेको जानकारी दिए।

'महानगरले तोकिएको समयभित्रै तरकारी तथा फलफूल बजार खाली नगरेको खण्डमा सोही व्यापारी तथा व्यवसायीबाट खाली गराउँदा लाग्ने खर्च पनि उठाइनेछ,' उनले भने। बीपी उद्यान वीरगञ्ज महानगर-९ मा पर्छ। वीरगञ्ज महानगर-९ का वडाध्यक्ष जवाहरप्रसाद गुप्ताले तरकारी तथा फलफूल व्यापारीलाई उपयुक्त विकल्प दिएर बीपी उद्यान खाली गर्नुपर्ने बताए।

'बीपी उद्यानलाई सौन्दर्यीकरण गरेर व्यवस्थित गर्न जरूरी भइसकेको छ। तर यहाँ तरकारी तथा फलफूल व्यापार गर्दै आइरहेका व्यवसायीलाई पायक पर्ने ठाउँमा व्यवस्थापन गर्नुपर्ने हुन्छ,' उनले भने, 'वडा नम्बर १६ स्थित नगवास्थित कृषि बजारमा टाढा हुने सम्भावना रहेको छ। सोबाहेक अन्य ठाउँको विकल्पको विषयमा छलफल गर्दा राम्रो हुने देखिन्छ।'

महानगरले यो ठाउँमा बीपी उद्यानको व्यवस्थित गरेर वीरगञ्ज आउने पर्यटकका लागि नयाँ आकर्षणको केन्द्र बनाउने तयारी गरिरहेको छ। रासस

प्रकाशित: Dec 30, 2024| 17:31 सोमबार, पुस १५, २०८१
प्रतिक्रिया दिनुहोस्