शुक्रबार, पुस ४, २०८२

नाबालिकालाई झुक्याएर विवाह गर्दा बेहुलासहित दुई जना पक्राउ

 |  सोमबार, पुस १५, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, पुस १५, २०८१

खोटाङ- जिल्ला प्रहरी कार्यालय खोटाङले नाबालिकासँग विवाह गर्ने युवक (बेहुला)सहित दुई जनालाई पक्राउ गरेको छ। आफन्तकामा हिँडेकी १३ वर्षीया बालिकालाई बाटैमा रोकेर ललाइफकाइ विवाह गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका २८ वर्षीय रमेश राई र बालविवाह गराउनमा संलग्न बालिकाको आफन्त कमला राईलाई प्रहरीले पक्राउ गरेको हो।  

National life

यही पुस८ गते बालिकासँग विवाह गर्ने रमेशलाई पुस १२ गते र कमलालाई पुस १३ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयको प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए। उनका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध बालविवासम्बन्धी कसूर अन्तर्गतको मुद्दा चलाइएको छ। 

बालविवाहसम्बन्धी घटना भएको जानकारी पाएपछि फरक–फरक समय तथा ठाउँबाट पक्राउ परेका उनीहरु दुवैजनालाई प्रहरी हिरासतमा राखेर घटनाको विषयमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। अभियुक्त उनीहरु दुवैजनालाई जिल्ला अदालतमा उपस्थित गराएर थप अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए।  

कक्षा–८ मा अध्ययनरत बालिकालाई युवक (बेहुला)को घरबाट उद्धार गरेर जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरेपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। पुस८ गते युवकको घर पुर्‍याइएकी बालिकालाई पुस९ गते किरात संस्कार अनुसार भित्र्याइएको बुझिएको प्रहरी प्रवक्ता पोखरेलले जानकारी दिए। 

मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद ११ विवाहसम्बन्धी कसूरमा बालविवाह गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद तथा रु ३० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था छ। विवाह गर्ने व्यक्तिको उमेर २० वर्षभन्दा कम भएको खण्डमा उक्त विवाह स्वतः रद्ध हुने मुलुकी अपराधसंहिताको बालविवाहसम्बन्धी कसूरमा उल्लेख छ। 

Laxmi sunrise bank
kumari

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले मङ्सिर १४ र १५ गते जालपामा बालविवाह न्यूनीकरणसम्बन्धी क्षमता विकास तालिम सञ्चालन गरेको थियो। सोही कार्यक्रमको प्रभावस्वरुप जालपामा भएको बालविवाहसम्बन्धी सूचना प्रहरीलाई प्राप्त भएको जनाइएको छ। 
 

प्रकाशित: Dec 30, 2024| 09:01 सोमबार, पुस १५, २०८१
प्रतिक्रिया दिनुहोस्